रुकुम पश्चिमबाट ४६ हजार किलो जडीबुटी निकासी

रुकुम पश्चिम । रुकुम पश्चिमबाट एक वर्षमा झण्डै ४६ हजार किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको छ। बितेको आर्थिक वर्ष ०७८/७९ जिल्लाबाट विभिन्न २६ प्रजातिका जडीबुटी निकासी भएको हो।

१ वर्षमा ४५ हजार ९ सय १२ केजी जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्लाभरमा विभिन्न २६ प्रजातिका ५७ हजार ६ सय ७२ किलो जडीबुटी सङ्कलन भए पनि असार मसान्तसम्म ४५ हजार ९ सय १२ किलोको छुटपुर्जी काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी जीवराज महतले जानकारी दिए।

उनका अनुसार सङ्कलन भएकोमध्ये ११ हजार ७ सय ६० किलो जडीबुटी भने जिल्लामै रहेको छ। जिल्लामा सेतक चिनी, सोमलता, पदमचाल, साधारण च्याउ, दालचिनीको बोक्रा, अमला, अल्लो, पावन बोक्रा, पाखनबेद, रिठ्ठा, टिमुर, भीर मौरीको मह, चिराइतो, लहरे गुर्जो, कराज चुल्ठे, कुरिलो, कुट्की, कालो मुस्ली, कालादाना, तेजपातलगायत जडीबुटी पाइने गरेका छन्।

जडीबुटीबाट डिभिजन वन कार्यालयले ४ लाख ५६ हजार २ सय ६२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जिल्लाबाट बाँकेको नेपालगञ्ज र काठमाडौं लगायतका जिल्लामा जडीबुटी निकासी हुने गरेको सूचना अधिकारी महतले बताए।

जिल्लाका सबै स्थानीय तहमा विभिन्न प्रकारका जडीबुटी पाइने गरेको छ। सबैभन्दा बढी जडीबुटी भने आठबीसकोट नगरपालिकाबाट सङ्कलन हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

जिल्लाबाट जडीबुटी निकासी बढेको छ। आर्थिक वर्ष ०७७/७८ मा जिल्लाबाट ४४ हजार ५ सय ८२ किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको थियो।