
सुर्खेत । नेपाल सरकारका अधिकृत तथा लेखक राम एकवाल दासलाई कर्णालीका विभिन्न राजनितिक दल सम्बद्ध महिला संगठन तथा अभियान्ता र संस्थाहरुले कारबाहीको माग गरेका छन् । आज जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत कारबाहिको माग गरिएको हो ।
दासले विद्या विकास पब्लिकेशन प्रा.लीबाट प्रकाशन गरेको नेपाल वन सेवा दिग्दर्शन गमस्काउट, वनरक्षक सफलताको साथी पुस्कतको पेज नं १४३ को नमुना प्रश्न नं १८ मा केटीलाई भालु किन भनिएको होला ? भन्ने प्रश्नमा पोथी भालु जस्तो व्यवहार भएर, पोथी भालुले एक पल्टमा धेरै भालेसंग संसर्ग गर्ने भएर, पोथी भालु बहुपती गामी हुन्छ र माथीका सबै भन्ने विकल्प राखि आम महिलाहरुलाई अममान गरेको भन्दै उनलाई कारबाहीको माग गरिएको हो ।


वन तथा वातावरण मन्त्रालय नेपाल सरकारका सहायक संरक्षण अधिकृतमा कार्यरत उनले महिलाहरुको चरित्र हत्या मात्र नभई अस्मिताको समेत खिल्ली उडाएकोले कर्णालीका महिलाअधिकारकर्मी, राजनितिकर्मी, मानवअधिकार कर्मी, नागरिक समाज तथा विभिन्न सञ्जालहरुले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ध्यानाकर्षण पत्र दिइएको अनेम संघ कर्णालीका अध्यक्ष पद्मा खड्काले जानकारी दिइन् ।
ध्यानाकर्षण पत्र दिनेहरुमा अखिल नेपाल महिला संघ कर्णाली, अन्तरपार्टी महिला सञ्जाल सुर्खेत, नेपाल महिला संघ, अखिल नेपाल महिला संघ सुर्खेत, बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेश, सञ्चारिका समुह कर्णाली प्रदेश, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, लगाएत २० वटा सञ्जाल, संस्था र समुहहरु रहेका उनले बताईन् ।
नेपाल सरकारको अधिकृत जस्तो गरिमामय पदमा बसेको व्यक्तिले यसरी आम महिलाहरुको चरित्रहत्या हुने खालको पुस्तक निकाल्नु निन्दनिय कार्य भएकोले राम एकवाल दासलाई कारबाही गर्नुपर्ने उनले बताईन् ।

फरकबाटो ८ श्रावण २०८०, सोमबार १६:४७