सुर्खेत । सुर्खेतमा मिस नेपाल पेजेन्ट –२०२२ को अडिसन भोलि (बुधबार) हुँदै छ । द हिडन ट्रेजरको आयोजनामा मिस नेपाल पेजेन्ट–२०२२ अडिन भोलि हुन लागेको हो ।
मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा द हिडन ट्रेजरका निर्देशक गिरेन्द्र राजवंशीले अडिसनको बारेमा जानकारी दिएका हुन् । मिस नेपालको फाइनल ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा असार ४ गते हुँदै छ । उनले मिस नेपालको पेजेन्टलाई फराकिलो बनाउन सात वटै प्रदेशमा अडिसनको आयोजना गरिएको जानकारी दिए ।
मिस नेपालका लागि प्रतियोगिको उमेर १८ वर्षदेखि २७ वर्षसम्मको हुनेपर्ने, ५ फिट ३ इन्चको उचाई र प्लस टु गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस वर्ष मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी मिस नेपाल २०२२ मा मुख्य तिन वटा टाइटल रहनेछन् ।
मिस नेपालको लागि वैशाख ३१ गतेसम्म आवेदन खुला गरिएको छ । सुर्खेतको अडिसनमा सहभागि हुन नसक्ने प्रतियोगीले अनलाइनमार्फत आवेदन फाराम भरेर काठमाडौँमा हुने अडिसनमा भाग लिन सक्ने जानकारी दिए । मिस नेपालको प्रतियोगिता अवधिसम्म निशुल्क हुने उनले बताए ।
कर्णालीका प्रतियोगिले मिस नेपालमार्फत कर्णालीलाई चिनाउन योगदान पुग्ने उनले बताए । मिस नेपाल भइसके पछि विभिन्न अवसर प्राप्त गरी देशलाई चिनाउनका साथै मर्यादित जीवन निर्वाहमा सहयोग पुग्ने उनको भनाई छ । उनका अनुसार अडिन बिहान नौ बजेदेखि सिद्धार्थ होटलमा हुँदै छ ।
पत्रकार सम्मेलनमा २०१५ को मिस नेपाल इभाना मानन्धर र २०२० मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माको उपस्थित रहेको थियो ।


फरकबाटो २० बैशाख २०७९, मंगलवार १७:१४