कर्णालीमा स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीमाथी श्रृङ्खलाबद्ध आक्रमण

 

सुर्खेत । सोमबार जाजरकोटको बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महतारामाथि खुकुरी प्रहार भयो ।

आफ्नै निवासमा रहेका वडाध्यक्षमाथि सोही वडाका अविनास नेपाली र टेकेन्द्र नेपालीले टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष निरौलाले घाइते वडाअध्यक्षको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको बताएका छन् ।

यस्तै अदानचुली गाउँपालिका हुम्लाका निमित्त प्रमख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलमाथि समेत अज्ञात समुहले ढुंगा हानेको छ ।

गत आइतबार राती अधिकृत प्याकुरेलको अदानचुली स्थित निवासमा ढुंगा हानेको श्रीनगर प्रहरी चौकीका सहायक निरिक्षक कृष्ण बहादुर बुढाले जानकारी दिएका छन् ।

अज्ञात समुहले हानेको ढुंगा लागेर अधिकृत प्याकुरेल सामान्य घाइते भएको बताइएको छ ।

कर्णाली प्रदेशमा पछिल्लो समय जनप्रतिनिधि र कर्मचारीमाथी श्रृङ्खलाबद्ध रुपमा आक्रमण भइरहेको छ ।

यस विषयमा कर्णाली प्रदेश प्रहरी कार्यालयले अनुसन्धान भइरहेको बताएको छ ।