पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु, एक जना घाइते

अछाम । पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

गएराति अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा १५ वर्षका संविधान विष्ट, अन्दाजी २६ वर्षका वीरेन्द्र विष्ट र ४५ वर्षकी हरिकला विष्टको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दीपेश रिजालले जानकारी दिए । उनका अनुसार ६५ वर्षकी नैना विष्ट घाइते भएकी छन् ।

उनको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । गएराति अन्दाजी १ बजेतिर आएको पहिरोले घर पुरिँदा घरभित्र सुतिरहेका तीनै जनाको मृत्यु भएको हो ।