सामाजिक सुरक्षा कार्यक्रम थप प्रभावकारी बनाइने


सुर्खेत । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायले सामुहिक प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा सोमबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय तह र गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा कार्यक्रमलाई सरल, सहज र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।

पञ्जीकरण विभाग र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सर्वसाधारणले विभिन्न गुनासा राखेका थिए । कार्यक्रममा जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा वापत पाउँदै आएको बृद्धभत्ता लिन कठिन भएको, बैंकसम्म पुग्न समस्या हुने गरेको र बैंकमा पुग्दा हैरानी भोग्नु परेको गुनासो गरे । यस्तै बालबालिकाको जन्मदर्ता गर्दा समस्या भोग्नु परेको, आमाबाबु नभएका बालबालिकालाई नागरिकता प्राप्त गर्न कठिन भएको र बालबालिकाले पाउने पोषण भत्ता पनि पाउन नसकेको सहभागिहरुको गुनासो थियो ।

यस्तै सहभागिहरुले सामाजिक सुरक्षा भत्तामा विभेद भएको, अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा भत्ता पाउन नसकेको र बालबालिकाको जन्मदर्ता गराउन नीतिगत समस्या भएको गुनासो गरे । कार्यक्रममा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले सामाजिक सुरक्षा भत्तालाई सहज रुपमा उपलब्ध गराउनका लागि स्थानीय सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । जन्मदर्ता र नागरिकता प्राप्तीमा देखिएका जटिलता हटाउनका लागि विभागले नीतिगत सुधारका लागि पहल गर्ने उनको भनाइ थियो ।

यस्तै कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउनका लागि प्रदेश सरकार गम्भिर रहेको बताए । सिमान्तकृत समुदायका लागि वितरण गरिने भत्ता लिनकै लागि नागरिकले भोग्दै आएको समस्या न्यूनिकरणमा प्रदेश सरकारले सुधार गर्ने उनको भनाइ छ ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले नागरिकलाई आँगनमै भत्ता उपलब्ध गराउनका लागि बैंकसँग समन्वय गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नागरिकता वितरणमा देखिएका समस्यालाई समाधान गरिने प्रतिबद्धता जनाए ।