डेङ्गीको सङ्क्रमणबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह


सुर्खेत । नेपालमा डेङ्गीको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गीका बिरामी बढ्न थालेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेङ्गी सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरिएको छ ।

यस्तै, मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

बर्खायाम शुरु भएसँगै परेको पानी फूलदानी, जारमा जम्मा हुन्छ अनि त्यहीँ लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ ।

बस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयष्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ । डेङ्गीले उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् ।

नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । सन् २००५ मा भने डेङ्गीका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गीको सङ्क्रमण देखिँदै आएको छ ।