नेपाल ल क्याम्पसमा स्ववियु चुनाव गर्न उच्च अदालतको परमादेश

सुर्खेत । उच्च अदालत पाटनले नेपाल ल क्याम्पसमा स्ववियु चुनाव गर्न परमादेश दिएको छ। स्ववियु चुनाव स्थगित गर्नुपर्ने स्पष्ट र वस्तुनिष्ठ कारण नखुलाइएको देखिएको भन्दै उच्च अदालतले निर्वाचन यथाशीघ्र सम्पन्न गराउन आदेश दिएको हो।

अदालतले त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका २०८१ को दफा १२ (८) को प्रावधानअनुसार १५ दिनभित्र नयाँ निर्वाचन मिति तोक्नुपर्ने व्यवस्था स्मरण गराउँदै निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन भनेको छ।

यस मुद्दामा निवेदक पक्षका तर्फबाट अधिवक्ता आश्विनकुमार प्याकुरेल, विकासकुमार गुप्ता, मोहम्मद माजिद र रुपेश खनालले बहस गरेका थिए भने विपक्षी नेपाल ल क्याम्पसतर्फबाट रमेश पराजुली, किशोर सापकोटा र त्रिभुवन विश्वविद्यालय तर्फबाट वरिष्ठ अधिवक्ता नारायणप्रसाद खनालले तर्क प्रस्तुत गरेका थिए।

अदालतले उच्च अदालत नियमावली २०७३ को नियम ४२ अनुसार विपक्षीहरूलाई आदेशको सूचना दिनुपर्ने स्पष्ट पारेको छ।

नेविसंघ प्रवक्ता सुरज सेजुवालले उच्च अदालतको परमादेशपछि अब नेपाल ल क्याम्पसमा स्ववियु चुनाव हुने विश्वास व्यक्त गरेका छन्।