‘कर्णाली उत्सव’को तेस्रो संस्करण भोलिदेखि

सुर्खेत । कर्णाली उत्सवको तेस्रो संस्करण भोलिदेखि सुरु हुँदैछ । ऋति फाउण्डेशनको आयोजनामा भोलिदेखि तीन दिनसम्म कर्णाली उत्सव, कुडा कर्णालीको तेस्रो संस्करण संचालन हुन लागेको हो । कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले फाउण्डेशनले विभिन्न संघसंस्थाको समन्वय तथा सहकार्यमा हरेक वर्ष कर्णालीका विविध विषयमा बहस गर्न कर्णाली उत्सवको आयोजना गर्दै आएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको पुरा तयारी भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार कर्णाली उत्सवको तेस्रो संस्करण भोलि बिहान ११ बजे बुलबुले उद्यानमा सूरु हुने छ ।

कर्णाली प्रदेश सरकार, उद्योग वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका र विभिन्न संघसंसथाको सहकार्यमा यस वर्ष पनि ऋति फाउण्डेशनले कर्णाली उत्सवको आयोजना गरिएको कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिए । उनले उत्सवका बारेमा जानकारी दिँदै तीन दिनसम्म १२ वटा सत्रमा विभिन्न विषयमा छलफल हुने बताए ।  विकासका लागि विचार महत्वपूर्ण हुने हुँदा कर्णालीको समृद्धि र विकासका लागि विचार निर्माण गर्न यस वर्षको कर्णाली उत्सवले सहयोग पुग्ने उहाँको भनाई छ । कर्णाली समृद्धीको बाटोमा हिड्दा के कस्ता समस्या तथा बाधाहरु छन्, कर्णालीमा कसरी आर्थिक समृद्धी हासिल गर्न सकिन्छ, यहाँको विकास कसरी गर्न सकिन्छलगायतका विषयमा पनि बहस हुने बताए ।
ऋति फाउण्डेशनका कार्यकारी निर्देशक दिनेश गौतमले उत्सवमा खस भाषाको लहरो शिर्षकमा विद्धत प्रवचन, आरन, अन्वेषण र आविष्कार, कर्णालीमा लगानीको विषय, उर्जा तथा विद्युतीकरणका विषय, विकासको बोटो, दिगो विकास र कर्णालीमा कर्णाली चिन्तनलगायतका विषयमा बहस हुने जानकारी दिए ।

उनले कर्णाली उत्सवमा उठेका विषयहरु कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने बताए । उनका अनुसार उत्सवमा कर्णालीमा रहेर चिनाउन लागेका हिरोहरु (पैकलो) का कथाहरु पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उत्सवमा कविता, गजल, कर्णालीको मौलिक सांस्कृतिक प्रस्तुती र सोफिया थापाको छाउपडी सम्बन्धी चेतनामुलक गीत विमोचन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।