काठमाण्डौ । सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ रुपैयाँको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भीर आरोप लगाएका छन् ।
६४ औँ संसद् दिवसको अवसरमा आज बिहीवार काठमाण्डौमा भएको कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारमाथि यो आरोप लगाएका हुन् । उनले निगम व्यापारीको हातमा दिएर अर्बौँ रुपैयाँ कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरू लागेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चारमाध्यमहरूले अघि ल्याउनुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले किसानलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरूले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको गुनासो गरे ।
वरिष्ठ नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्ने काम नगर्न पनि राजनीतिक दलहरूलाई सचेत गराए । ७० वर्ष सङ्घर्ष गरेर टुङ्गो लगाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरूले खोज्न नमिल्ने उनको भनाइ थियो ।


फरकबाटो १६ असार २०७९, बिहीबार १६:२६