‘पोषण सुधारका लागि लगानी बढाउन आवश्यक’

सुर्खेत । कर्णाली प्रदेशमा पोषणको सुधारका लागि लगानी बढाउनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । प्रदेश योजना आयोगले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले हरेक योजनामा पोषणलाई जोडेर ल्याउनुपर्ने जोड दिए ।

कार्यक्रममा बोल्दै खाद्य अधिकार सञ्जालका जगत केसीले रैथाने बाली संरक्षणका लागि सरकारले प्रोत्साहन दिनुपर्ने बताए । उनले राज्यले पोषण सुधारका लागि बढी भन्दा बढी लगानी लगाउनुपर्ने धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य दिपेन्द्र शर्माले सरकारले ल्याउने हरेक कार्यक्रम पोषणसंग जोडेर ल्याउनुपर्ने बताएका हुन् ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१९ का अनुसार कर्णाली प्रदेशमा पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपन ४८ प्रतिशत, कम तौल ३७ प्रतिशतन र ख्याउटेपन १८ प्रतिशत रहेको छ । बहुक्षेत्रीय पोषण योजनाका प्रदेश समन्वयकर्ता मान बहादुर कुँवरले कर्णालीमा पोषणको सुधारका लागि सबै पक्षबाट लगानी बढाउनुपर्नेमा जोड दिए ।

उनले मातृपोषणका कार्यक्रम, किशोरावअस्थादेखि नै आमाहरुको पनि पोषणमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार बहुक्षेत्रीय पोषण योजना कर्णालीका दश वटै जिल्लामा लागू छ । कर्णालीको सुर्खेतमा आंशिक प्याकेजको रुपमा लागू भएको छ भने अन्य नौ वटा जिल्लामा पूर्ण प्याकेजको रुपमा योजना लागू भएको उनले बताए ।

पोषणको कार्यक्रमले मात्र नभएर शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सरसफाई, महिला तथा बालबालिकाको क्षेत्रबाट पनि सम्बोधन गरे सुधार गर्न सकिने उनको भनाई छ ।

कार्यक्रममा प्रदेश योजना आयोगका कार्यालय निमित्त प्रशासकिय अधिकृत सुनिल लिम्बुले प्रदेश स्तरमा प्रदेश सरकारले बजेट विनियोजन गरेर कार्यक्रम गर्नुपर्ने बताए । यस कार्यक्रममा प्रदेश सरकारले योजना र बजेट व्यवस्था गर्नुपर्ने भए पनि नगरेको उनको भनाई छ । प्रदेश सरकारले कार्ययोजना बनाएर समावेश गर्नुपर्ने उनले जोड दिए ।