हेटौँडाको एक डान्सबारमा चक्कु प्रहार, ३ जना घाइते


सुर्खेत । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा फेरि चक्कु प्रहार भएको छ । हेटौँडाको मानसचोक नजिक चक्कु प्रहार भएको तीन हप्तापछि फेरि चक्कु प्रहार भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा रहेको हेटौँडा डान्सबारमा रक्सी खाएर केही युवाले चक्कु प्रहार गर्दा होटलका सञ्चालकसहित तीन जना घाइते भएका छन् ।

बसपार्क नजिकै अस्थायी प्रहरी पोस्टमा प्रहरी बस्छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर पनि नजिकै छ । रातको समयमा होटलका सञ्चालक र कामदारमाथि चक्कु प्रहार भएको स्थानीयवासीले बताएका छन् ।

चक्कु प्रहारबाट डान्सबार सञ्चालक हेटौँडा १ बस्ने ४० वर्षीय संजय लामा घाइते भएका छन् । उनको निधारमा गहिरो चोट लागेको छ । उनको निधारमा पाँच वटा टाका लगाइएको छ । यसैगरी यही डान्सबारमा काम गर्ने हेटौँडा ४ बस्ने २४ वर्षीय विजयकुमार मोक्तान घाइते भएका हुन् ।

उनको समेत नाक र ओठमा धारिलो हतियारले काटेको बताइएको छ । यस्तै यही डान्सबारमा काम गर्ने हेटौँडा–४ बस्ने २८ वर्षीय रोशन श्रेष्ठ समेत घाइते भएका छन् ।

रक्सी खाएर चक्कु प्रहार गर्ने चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् । प्रहरीले चक्कु प्रहार गर्ने कार्यमा संलग्न भएको आरोपमा बसपार्क बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ, आनन्द टोल बस्ने ४१ वर्षीय विष्णुलाल योन्जन, ३१ वर्षीय निमा योन्जन र हेटौँडा १ बस्ने ४० वर्षीय सुरेश महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरूले रक्सी खाइसकेपछि बिल तिर्ने क्रममा झगडा भइ कुटपिट गर्दा सञ्चालक र कर्मचारी घाइते भएका हुन् । प्रहरीले उनीहरूको साथबाट एक थान चक्कुसमेत बरामद गरेको छ ।