विदेश जाने निर्णय त्यागेर भैंसीपालन व्यवसायबाट मनग्य आम्दानी

भैंसीपालन व्यवसायबाटै सन्तोषले मासिक एक लाख बढी कमाई गर्ने गरेका छन् ।

सुर्खेत । लेकवेशी नगरपालिका ९ कालताँडीका सन्तोष खाम्चाले व्यावसायिक रुपले भैंसीपालन सुरु गरेको करिब दुई वर्ष भयो । उनीसँग अहिले ठूलासाना गरेर १८ वटा भैंसी छन् । खाम्चा भैंसीपालन व्यवसाय गर्नुअघि कमाईका लागि भारत जान्थे । उनले भारत मात्र होइन, आफ्नै ठाउँमा केही गर्छु भनेर होटल र कपडा पसल पनि सञ्चालन गरे ।

यी सबै व्यवसायबाट झन ऋण लागेपछि उनले वैदेशिक रोजगारीका लागि रोमनिया जाने योजना बनाए । तर, गाउँकै एक जना छिमेकीले उनलाई कृषि व्यवसाय गर्न सुझाव दिएपछि भैसीपालन व्यवसाय सुरु गरेको उनले बताए । सन्तोषले भैंसीपालन गर्न सुझाव मात्र पाएनन्, ती व्यक्तिबाट १० लाखसम्म ऋणसमेत पाए । भैंसीपालन व्यवसाय उनलाई फाप्यो ।

गाउँमा प्रशस्त जग्गा जमिन छ । केही ऋण तिरेर बाँकी पैसाले उनले तीनवटा भैंसी किनेर भैंसीपालन सुरु गरेको बताए । उनले भने, ‘भारतमा राम्रो कमाई नहुने भएपछि वीरेन्द्रनगरमा होटल सञ्चालन गरें । होटलबाट पनि खासै राम्रो आम्दानी भएन ।कपडा पसल गर्दा ४५ लाख सकियो । गाउँघरमा उधारो जाने, समयमै पैसा नउठ्दा ब्याज तिर्न समेत समस्या थियो ।” ऋणले सताएपछि विदेश जाने योजना बनाएको उनले बताए । अहिले भैंसीपालन व्यवसायबाट आफू आत्मनिर्भर भएको उनले बताए ।

अहिले उनलेँ दैनिक ५० लिटर दूध बिक्री गर्नुहुन्छ । सिजनमा यो भन्दा बढी उत्पादन हुने उनको भनाई छ । दूध बेचेर मासिक एक लाख रुपियाँ बढी कमाई भइरहेकाले आफू सन्तुष्ट रहेको उनले बताए । खाम्चाले अहिले भैंसीपालनसँगै बाख्रा, बंगुर र कुखुरा पनि पालेका छन् ।

उत्पादन भएको दुध वीरेन्द्रनगर बजारसम्म पुर्याउन उनको आफ्नै अटोरिक्सा छ । उनका छोराले अटोरिक्सामा वीरेन्द्रनगर दुध पु¥याउने काम पाएको खाम्चाले बताए । उनीसाग अहिले चार विघा जमिन छ । एक विघा खेतमा उनले घाँस खेती गर्ने योजना बनाएको सुनाए । पाँच कठ्ठामा घाँसखेती सुरु गरेको बताउनुहुने खाम्चाले तत्काल १० वटा भैंसी थप्ने योजनामा रहेको बताए । ‘गरेपछि आफ्नै ठाउँमा धेरै गर्न सकिने रहेछ । अब यसै व्यवसायलाई अझै राम्रो गर्दै लैजाने योजना छ’, उनले भने ।
उनलाई कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तर्गत कृषिक्षेत्र विकास कार्यक्रमले पनि सहयोग गर्दैआएको छ । खाम्चा अहिले सो गाउँको अगुवा कृषक बन्नुभएको छ । समूहमा २७ जना कृषक सहभागी हुनुहुन्छ । २७ घरबाट अहिले दुई सय लिटरभन्दा बढी दूध उत्पादन हुन्छ ।

कृषकको आर्थिक अवस्था सुधार हुनुका साथै जीवनस्तर माथि उठेको सचिव दीपककुमार ढकालले बताए । उनले भने , ‘पहिले एउटासम्म भैंसी पाल्ने हुन्थ्यो । अहिले तीन चार वटा, कसैले फर्मकै रुपमा पनि भैंसी पालन गर्नुभएको छ । दूध विक्री गरेर नै आर्थिक रुपमा आत्मनिर्भर भएका छौँ ।’

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तर्गत कृषि क्षेत्र विकास कार्यक्रमले कृषकलाई आवश्यक सहयोग समेत गर्दै आएको छ । कार्यक्रमका संयोजक विनोदकुमार भ्टटराईले कृषकलाई बैंकबाट ऋण लिँदा सहजिकरण गर्ने, प्राविधिक सहयोग गर्ने, मेसनरी सामग्री सहयोग, उत्पादन, बजारिकरण कृषि सडक सिंचाईमा सहयोग गर्दैआएको बताए ।