कंगोमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेत गुर्भाकोटका अनिल गुरुङ रहेको पुष्टि

काठमाण्डौ । कंगोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्भाकोट–१४ का अनिल गुरुङ रहेको खुलेको छ ।

अपरेशन ‘बाली’ का क्रममा हिजो विद्रोहीको आक्रमणबाट घाइते भएका सिपाही गुरुङलाई थप उपचारका लागि बुनियाँ लेबल–२ अस्पताल लगिएको थियो । शान्ति सेनाको पहिलो डफ्फा कंगोमा खटिएका गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाली सेनाले पुष्टि गरेको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले ज्यान गुमाएका गुरुङ्गप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसअघि नै शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा गर्दै उनले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कङ्गोका अधिकारीलाई आग्रह गरेका छन् ।