सुर्खेतमा टाइफाइड विरुद्धको खोप अभियान तिन चरणमा संचालन गरिने

१५ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ३५ हजारलाई खोप लगाइने

सुर्खेत । सुर्खेतमा टाइफाइड विरुद्धको खोप अभियान तीन चरणमा संचालन हुने भएको छ । खोप अभियान अन्तरगत सुर्खेतका एक लाख ३५ हजारलाई टाइफाइड रोग विरुद्धको खोप लगाइँदै छ । सुर्खेतका नौ वटा स्थानीय तहमा गरेर १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार यही चैत २५ गतेदेखि वैशाख १८ गतेभित्र जिल्लाका नौ वटै स्थानीय तहमा टाइफाइड विरुद्धको खोप अभियान संचालन हुन लागेको हो । कार्यालयका प्रमुख गणेशभक्त गौतमले तीन चरणमा खोप अभियान संचालन हुने जानकारी दिए । यही पहिलो चरणमा चैत २५ गते वीरेन्द्रनगर नगरपालिकामा खोप अभियान संचालन हुनेछ ।
यस्तै दोस्रो चरणमा चैत २६ गतेदेखि भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका, चैत २९ गते बराहताल र चिङ्गाड गाउँपालिका लेकवेशी नगरपालिकामा खोप अभियान संचालन हुनेछ । वैशाख ३ गते चौकुने र सिम्ता गाउँपालिकामा खोप अभियान सूर गरिने कार्यतालिका रहेको जनाइएको छ । उहाँले विद्यालय, खोप केन्द्र, स्वास्थ्य संस्थामा बालबालिकालाई खोप लगाइने जानकारी दिए । उनले ८० प्रतिशत बालबालिका विद्यालयमा रहेकाले सबै विद्यालयमा खोप अभियान संचालन हुने जानकारी दिए । खोप अभियानका लागि तीन हजार जनशिक्त खटाइने बताए ।