
‘विद्यालयमा बालिकाहरुका लागि सेनिटरी प्याड व्यवस्थापन गर्ने उपयुक्त स्थान निर्माण गरियोस् , बालमैत्री धारा निर्माण गर्नका लागि वडा कार्यालयले बजेटको व्यवस्थापन गरोस्, खेलकुदका लागि मैदान, विज्ञान प्रयोगशाला निर्माण, कम्प्युटर कक्षा व्यवस्थापन, स्वच्छ खानेपानी लगाएतका माग हामी बालबालिकाका हुन् ।’
विद्यालय पोशाकमै कार्यक्रममा सहभागी भएकी गुराँस गाउँपालिका ३ दैलेख सरस्वती माध्यामीक विद्यालय पातिकाल्नामा कक्षा ९ मा अध्ययनरत छात्रा अरुणा वि.कले युवा क्लबको नेतृत्व गरेर आएकी थिइन् ।
उनले युवा र बालबालिकाहरुका लागि वडा कार्यालयले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट विनियोजन गर्नुपर्ने माग राखिन् ।
फुलबारी युवा क्लबको अध्यक्ष समेत रहेकी बि.कले जसको सवाल उसैको नेतृत्व हुनुपर्ने धारणा राखिन् । ‘वडा कार्यालयले टोलबाट योजना छनौट गरिसकेको थियो ’ उनले भनिन् “तरपनि आज सबै लक्षित वर्गलाई सहभागी गराएर आफ्ना माग राख्ने अवसर पुन दिएकोमा धन्यबाद छ । ”
अपाङ्गता सञ्जाल समिति गुराँस ३ का सदस्य केशरसिं सिंजालीले समेत अपाङ्गता भएकाहरुलाई तालिमको व्यवस्थापन गर्नुपर्ने भन्दै गाउँपालिकामा बन्ने भौतिक संरचनाहरु अपाङ्गतामैत्री हुनुपर्ने माग राखे ।
उनीहरुमात्रै होइन, स्थानिय महिला समुहकी अध्यक्ष रामकुमारी मल्लले समेत लैगिंक मैत्री बजेट निर्माणमा वडाको ध्यान जानुपर्ने बताईन् ।
गुराँस गाउँपालिका वडा नं ३ दैलेखले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याउन लागिएको बजेटका सन्दर्भमा बिहिबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागी लक्षित वर्गको नेतृत्वकर्ताहरुले आफ्ना माग खुलेरै राखे ।
कार्यक्रममा दलित, जनजाती, अपाङ्गता, महिला, बालबालिका तथा युवा, सहकारी, शिक्षा, स्वास्थ्य, टोलविकास संस्था तथा सबै राजनितिक दलहरुको सहभागीता रहेको थियो । छलफल कार्यक्रममा सबै क्षेत्रको नेतृत्व गर्नेहरुले खुलेरै आफ्ना मागहरु जनप्रतिनिधि तथा कर्मचारीसामु राखे ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ मा नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा लक्षित वर्गको सहभागीता अनिबार्य गर्नुपर्ने व्यवस्था रहेको छ ।
संघियताका पाँचवर्षसम्म अधिकाँश स्थानिय तहहरुले जनप्रतिनिधि, कर्मचारी र जनप्रतिनिधि निकट कार्यकर्ताका बिच नीति कार्यक्रम र बजेट निर्माण गरे तर गुराँस गाउँपालिका ३ दैलेखले भने आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याउन लागिएको बजेटको छलफलमा लक्षित वर्गलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्न लागेको हो ।
गुराँस गाउँपालिका ३ का लागि आगामी आर्थिक वर्षको पुँजिगत बजेट ३५ लाख रहेको वडा सचिव दलबहादुर बिसीले जानकारी दिए ।
छलफल कार्यक्रममा बोल्दै गुराँस गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष काँशीराम शर्माले टोलबाट आएका योजना र वडाले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी लक्षित वर्गहरुले दिएको सुझावकै आधारमा बजेटलाई प्राथमिकिकरण गर्ने बताए ।
उनले बजेट थोरै भएपनि तल्लो तहका नागरिकले महशुष गर्नेगरि कार्यक्रम ल्याउने धारणा राखे ।



फरकबाटो २ असार २०७९, बिहीबार २२:४७