कुपोषणबाट मुक्त छैनन् कर्णालीका बालबालिका, बालविवाह मुख्यकारण

“कुपोषित बालबालिकाका ७८ प्रतिशत आमा २० वर्षमुनिका”

सुर्खेत । कर्णाली प्रदेश पोषण पुर्नस्थापना गृह सुर्खेतमा दुई आर्थिक वर्षमा २ सय २३ जना बालबालिका कुपोषित भएर उपचारका लागि आए । आर्थिक वर्ष २०७७/०७८ मा १ सय ८ जना बालबालिका उपचारका लागि आएका थिए भने आर्थिक वर्ष ०७८/०७९ मा १ सय १५ बालबालिका कुपोषित भएर उपचारका लागि आएको कार्यालयको तथ्याँक रहेको छ ।

आ.व ०७८/०७९ मा कुपोषण भएर उपचारका लागि आएका १ सय १५ बालबालिकाका आमा मध्ये ८९ जना आमा २० वर्ष मुनिका थिए भने २६ जना मात्रै २० वर्ष माथिका आमा रहेको पोषण पुनस्र्थापना केन्द्रले जानकारी दिएको छ ।

यो तथ्याँक अनुसार कुपोषित बालबालिकाका ७८ प्रतिशत आमा हरु २० वर्षमुनीका र २२ प्रतिशत आमाहरु २० वर्ष माथिका रहेका छन् ।

हरेक वर्षजसो यसै गरी बालिका आमाहरुले कुपोषित बच्चाहरु उपचारका लागि ल्याउने गरेको पोषण पुर्नस्थापना गृहका प्रवन्धक प्रभा सिंहले जानकारी दिईन् ।

आर्थिक वर्ष २०७७/०७८ मा गृहमा १ सय ८ जना बालबालिकाले सेवा लिएकोमा पाँच वर्ष माथिका बालबालिका २ जना थिए भने पाँच वर्ष मुनिका बालबालिका एक सय छ जना रहेका थिए । गृहमा ५९ जना बालक र ४९ जना बालिका उपचारका लागि आएको कार्यालयले बताएको छ ।

जसमा सुर्खेत जिल्लाबाट ५४ जना, दैलेख जिल्लाबाट २४, जाजरकोटबाट ७ ,जुम्लाबाट ४, कालिकोटबाट ८, सल्यानबाट ३, हुम्लाबाट २, बाजुराबाट २, अछामबाट ४ समेत बालबालिकाहरु आएको प्रबन्धक सिंहले बताईन् ।

शिघ्र कडा कुपोषण हुने बालबालिका ६४ जना, मध्यम कडा कुपोषण हुने ४४ जना रहेका हुन् । जसमध्ये पुर्ण निको भएर जाने ८९ जना , डिफल्डर ( तौल नपुग्दै,नसोधि जाने ) ९ जना तथा रिफर १० जनालाई गरिएको थियो ।

यस्तै आर्थिक वर्ष ०७८/०७९ मा गृहमा १ सय १५ जना बालबालिका उपचारका लागि आएकोमा  पाँच वर्ष माथिका ७ जना र पाँच वर्ष मुनिका बालबालिका १ सय ८ जना रहेको सिंहले बताईन् । जम्मा उपचार गर्न आएका बालबालिकामध्ये ६८ जना बालक र ४७ जना बालिका रहेका थिए ।

कुपोषित बालबालिकाहरुलाई उपचारका लागि ल्याउनेमा सुर्खेत जिल्लाबाट ६३, दैलेखबाट २४, जाजरकोटबाट ६, जुम्लाबाट ४, कालिकोटबाट ६, सल्यानबाट ५, हुम्लाबाट ३, कैलालीबाट २, बाँकेबाट एक र डोल्पाबाट एकजना  रहेका थिए

यो आर्थिक वर्षमा शिघ्र कडा कुपोषण हुनेमा ८१ जना, मध्यम कडा कुपोषण हुनेमा ३४ जना रहेको र पूर्ण रूपमा निको भएर जानेमा ८० जना,( डिफल्डर) १४ जना र रिफर भएर जाने १४ जना रहेको कार्यालयको तथ्याँक रहेको छ ।

नेपाल सरकारको परिवार कल्याण महाशाखा भित्र रहेको पोषण विभाग अन्तर्रगत पोषण पुर्नस्थापना गृह कर्णाली प्रदेश अस्पताल परिसरमा छ । गृहमा कुपोषणबाट ग्रसित भएका बालबालिकालाई कुपोषण मुक्त बनाउनका लागि उपचार गरिन्छ ।
गृहका प्रवन्धक प्रभा सिंहका अनुसार बालबालिकामा कुपोषण हुनु नै कम उमेरमा विवाह हो ।

उनी भन्छिन् “अपरिपक्क उमेरमा बिवाह गरेर बच्चा जन्माउनु नैं कुपोषणको पहिलो कारण मानिन्छ । बच्चाको आमाहरूलाई नै बच्चालाई कति पटक खाना खुवाउने , के खानेकुरा खुवाउनु पर्छ भन्ने कुराको ज्ञान नहुनु पनि बच्चामा कुपोषण हुनु हो ।”

पछिल्लो समय आमाहरूले बच्चाहरूलाई बाहिरका खानेकुरामा बढी जोड गर्ने गरेको र आफ्नै घरमा उपलब्ध हुने खानेकुरालाई ध्यान नदिनुको कारण पनि बच्चामा कुपोषण समस्या देखा पर्ने गरेको उनले सुनाइन् । धेरै बच्चा जन्माउने महिलाहरुको अन्तिम बच्चा समेत कुपोषित भएको पाइएको उनले बताईन् ।

बालविवाह, आमाले गर्भअवस्थमा राम्रो स्याहार नपाउनु, शारीरिक अवस्था अपरिपक्क र कमजोर हुँदै जाने र कमजोर आमाबाट जन्मेको बच्चा समेत कमजोर हुने गरेको उनले तर्क गरिन् ।