अब हप्तामा ६ दिन सेयर कारोबार हुने, शुक्रबार २ घण्टा बजार खुल्ने

काठमाडौँ । साताको पाँच दिन मात्र सञ्चालन हुँदै आएको शेयर बजार अबदेखि ६ दिन सञ्चालन हुने भएको छ ।

यसअघि आइतबारदेखि विहीबारसम्म र सरकारले जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि सोमबारदेखि शुक्रबार सम्म बजार सञ्चालन हुँदै आएको थियो ।

असार १ गतेदेखि लागु हुने गरी सरकारले आइतबारको बिदा हटाउने निर्णय गरेको अवस्थामा अब शेयर बजार आइतबारदेखि शुक्रबारसम्म नै सञ्चालन हुने भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को आज बसेको सञ्चालक समितिको बैठकले सार्वजनिक बिदाका दिन बाहेक अन्य दिनमा कारोबार खुला गर्ने निर्णय गरेको हो ।

नेप्सेको निर्णय अनुसार अब आइतबारदेखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार खुल्ला हुनेछ ।