जनकल्याणले दियो भावि सञ्चालकलाई क्षमता विकास तालिम

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं। १ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि। ले भावि सञ्चालकको लागि क्षमता विकास तालिम सञ्चालन गरेको छ । संस्थाको यस बर्ष सम्पन्न हुने २७ औँ बार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

सोहि अवसरमा संस्थाको नेतृत्व क्षमतावान र जिम्मेवार सञ्चालकलाई दिने उद्देश्यले आज श्रावण १४ गते भावि सञ्चालकको क्षमता विकास तालिम आयोजना गरिएको संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले जानकारी दिए ।

भावि सञ्चालकको क्षमता विकास तालिममा संस्थाका पूर्व सञ्चालक, हालका सञ्चालक र शेयर सदस्यहरु मध्येबाट ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाको विगत वर्तमान र भावि योजनाका बारेमा संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले प्रस्तुतिकरण गरेका थिए ।

भावि सञ्चालकको क्षमता विकास तालिममा नेफ्स्कुनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले सहजिकरण गरेका थिए । सहजिकरणका क्रममा सहजकर्ता रेग्मीले सहकारीका सिद्धान्त, नेतृत्व गर्ने व्यक्तिको विशेषता, नैतिकता आदिको बारेमा प्रशिक्षण गरेका थिए ।

सहकारीका विद्यमान ऐन तथा कानुन र सहकारी संस्थाको पदिय जिम्मेवारीका बारेमा समेत सहभागिहरुलाई जानकारी गराईएको थियो ।

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं। १ देखि १४ सम्म र बराहताल गाउँपालिकाको वडा नं। ९ र १० कार्यक्षेत्र बनाई संस्थाले सामाजिक उत्तरदायित्व सहितको वित्तिय सेवा प्रदान गरिरहेको छ । संस्थाको स्थापना २०५२ साल जेठ २८ गते भएको हो ।

स्थापनाकालमा ७ हजार २ सय ५० रुपैयाँबाट सुरु भएको संस्थाको कुल पुँजी २०७९ असार मसान्तसम्म आइपुग्दा २५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । जनकल्याण संस्था २०७५ सालदेखि नेफ्स्कुनको स्तरिकरण कार्यक्रम प्रोवेसनमा सम्झौता गरि सोहि बमोजिम संस्थालाई परिस्कृत र परिमार्जन गर्दै शुसासन कायम गरिएको संस्थाका व्यवस्थापकले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले संस्थाले हाल प्राप्त गरेका उपलब्धीलाई संस्थागत गर्दै भावि रणनीति कार्यान्वयन गर्न सक्ने व्यक्तिहरु मात्र सञ्चालक समितिमा आउन आग्रह गरेका छन् ।

सहकारी संस्थामा बढी राजनीति हुने गरेको र यसले सहकारी संस्थाको व्यवसायिक जीवनलाई नकरात्मक असर गर्ने भन्दै यस्तो राजनीतिलाई तत्काल बन्द गरि सहकारीका लागि योग्य र क्षमतावान् व्यक्ति मात्र नेतृत्वमा आउनुपर्ने बताएका छन् ।

संस्थाका अध्यक्ष महेन्द्र प्रसाद शर्माले आगामी साधारण सभाबाट सक्षम योग्य र क्षमतावान् व्यक्तिहरु सर्वसम्मत रुपमा चयन गरि संस्थालाई नीति विधि र प्रविधि बमोजिम अगाडी बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको उल्लेख गरेका छन् । कार्यक्रममा सहभागि व्यक्तिहरुले यो कार्यक्रम ज्यादै प्रभावकारी भएको र आगामी नेतृत्व क्षमतावान चयन हुनेमा विश्वास व्यक्त गरेका छन् ।