मलेसियामाथि नेपालको सहज जित

काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ । युकेएम ओभलमा बिहीबार नेपालले आयोजक मलेसियालाई २५ रनले हराएको हो ।

नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडीन् । नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् ।  यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन् । सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान ३/३ रन जोड्दा कप्तान कृतिका मरासिनीले १ रन जोडिन् ।

किरण कुमारी कुँवर सुन्य रनमा आउट भईन् । मलेसियाकी नुर सामेदले २ विकेट लिईन् । यस जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा तेस्रो स्थान हासिल गरेको छ । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोर्यो । नेपालले ५ खेलमा ६ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।

तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । चौंथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो । मलेसियाले ५ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा हासिल गर्यो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।

शीर्ष टोलीले दक्षिण अफ्रीकामा आयोजना हुने यू-१९ को विश्वकप खेल्नेछ । नेपालको विश्वकप सपना भने यस अघि नै समाप्त भईसकको छ । छनोटमा युएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । थाइल्याण्ड र युएईबीच आज हुने खेलले विश्वकपमा पुग्ने टोलीको तय हुनेछ ।