काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग पराजित भएको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो । तर,दोस्रो हाफमा नेपालले दुई गोल व्यहोर्यो ।
जोर्डनलाई जित दिलाउन अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।
पहिलो हाफमा जोर्डनविरुद्ध नेपालका गोलकिपर दीप कार्की नायक बने । नेपालका लागि डेब्यु गरेका उनले खेलको ४३ औं मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाए ।
नेपालका डिफेन्डर गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्स भित्र लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।
तर, खेलको ६९ औं मिनेटमा ओल्वनले गोल गर्दै जोर्डनलाई सुरुआती अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा हाम्जाले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई २-० को जित दिलाए ।
नेपालका डिफेन्डर सुमन अर्यालले मोहमद सुलेमानलाई पेनाल्टी बक्सभित्र लडाएपछि जोर्डनले दोस्रो पटक पेनाल्टीको अवसर पाएको थियो ।
त्यसबाहेक जोर्डनका केहि उत्कृष्ट प्रहारलाई गोलकिपर दीपले उत्कृष्ट बचाऊ गरे ।
यस जितसँगै जोर्डनले पहिलो खेलमा ३ अंक जोडेको छ ।
नेपालले हारबाट छनोटको सुरुआत गरेको छ ।
छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।
फरकबाटो २६ जेष्ठ २०७९, बिहीबार ०९:२०