सामाजिक क्षेत्रमा नीति र बजेट ल्याउन पहल गर्छौ : अध्यक्ष ओली

सुर्खेत । सामाजिक क्षेत्रमा नीति र बजेट ल्याउन पहल गर्ने प्रदेश सभा सामाजिक विकास समिति अध्यक्ष देवी ओलीले बताएकी छन् । कर्णालीमा बालविवाह, महिला हिंसा, जातिय विभेद, छाउप्रथा लगाएतका थुप्रै कुप्रथा र समस्याहरु भएको भन्दै यसको न्युनिकरणका लागि निति र बजेट आवश्यक भएको उनले बताईन् ।

बिहिबार बालविवाह विरुद्ध साझा अभियान सञ्जालले आयोजना गरेको कर्णाली प्रदेशमा बाल विवाहको अवस्था विषयक बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

बालविवाहका कारण निम्तिने घरेलुहिंसा, मानशिक समस्या, आत्माहत्या न्युनिकरणका लागि विशेष कार्यक्रमहरु ल्याउनुपर्ने उनले बताईन् । ‘बालविवाह कर्णालीको ठुलो समस्या हो’ उनले भनिन् “यसको न्युनिकरणका लागि निति र बजेट ल्याउन सके घरेलुहिंसा, मानशिक समस्या, गरिबी र आत्माहत्यामा समेत न्युनिकरण हुन्छ ।”

बालविवाहका कारण जन्मिएका बच्चाहरुको समेत जटिल समस्या भएको भन्दै यसको लागि समेत बहस गर्नुपर्ने बेला भएको उनले सुनाइन् ।

सांसद नरेश भण्डारीले बालविवाहले एउटा व्यक्तिमात्रै होइन परिवार र समाज नै समस्यामा फस्ने बताए । हत्या, हिंसा, गरिबी, आत्माहत्या लगाएतका थुप्रै समस्या बालविवाहकै कारण निम्तिने उनले बताए ।

सञ्जालको संयोजक संस्था आवाज सुर्खेतकी निर्देशक पवित्रा शाहीले आँफुहरुले लामो समय गरिएको अध्ययनले पनि कर्णालीमा डरलाग्दो बालविवाह भएको र यसबाट निम्तिने समस्या झनै भयानक भएको तथ्य फेला परेको बताईन् ।

प्रदेश स्तरिय सञ्जालमा कर्णालीका २३ वटा संस्था आवद्ध छन् । जसले बालविवाह न्युनिकरणका लागि विभिन्न अभियानका साथै नीति निर्माण र कार्यान्वयनमा वकालत गर्ने गरेको सञ्जालका अभियान संयोजक चेतन गिरीले जानकारी दिए ।