बिदेशको कमाइ स्वदेशमै

सुर्खेत । घरको जेठो छोरा परिवारको जिम्मेवारी चित्र कै काँधमा थियो । पढाईमा एसएलसी पास गरेका उनलाई विवाहपछि झनै ठुलो जिम्मेवारी थपियो । छोरा जन्मियो घरमा खाने मुख थपिँदै गए ।

बुढा भएका बुवा–आमाले कृषिकर्म गरेरै चित्रलाई हुर्काएका हुन् । बुवा–आमाले नै अंगालेको पेशा अपनाएर व्यवासायीक कृषी गर्ने सोच उनले पनि नबनाएका होइनन् । तर खासै आम्दानी नहुने देखेपछि उनले देशै छोड्ने निधो गरे ।

हुर्किँदै गरेको छोरा र बुढा भएका बुवा–आमा अनी श्रीमतीको सुनौलो भविष्य कोर्न चित्र वैदेशिक रोजगारीका लागि मलेशिया हानिए । २०६९ सालमा १८ वर्षको उमेरमा उनी रोजगारीका लागि मलेशिया छिरेका हुन् । गुराँस गाउँपालिका वडा नं ६ जोरेबाँझ दैलेखमा जन्मिएका चित्र वि.सी उमेरले भखैरै २७ वर्षका भए ।

तिनवर्ष विदेशमा पसीना बगाएर करिब १८ लाख त चित्रले कमाए तर उनको मन नेपालमै हुन्थ्यो । श्रीमती, भर्खरै जन्मिएको छोरा र परिवारका अन्य सदस्यलाई छोडेर समुन्द्रपारी पसिना बगाउन जानु उनको रहर नभई बाध्यता थियो ।

तिन वर्ष मलेशिया बसेर विदेशको यात्रा पुन नदाहोर्‍याउने गरि २०७१ सालमा उनी नेपाल फर्किए । विदेशबाट फर्किएपछि पनि उनले दैलेखमा बसेर करिब एकवर्ष तरकारी खेती गरे । त्यसबाट पनि सन्तुष्ट हुन नसकेपछि चित्र वीरेन्द्रनगर सुर्खेत झरेका हुन् ।

वीरेन्द्रनगर ११ ढोलढुङगामा घर निर्माण गरी बसेका चित्रको सम्पर्क आलोपालो बचत तथा ऋण सहकारी संस्थासंग बढ्यो । जसका कारण आज उनी विदेशको कमाई स्वदेशमै गर्न सफल भएका छन् ।

सुरुमा तिनलाख रुपैयाँ उनले सहकारीबाट ऋण लिएर अटो किने । अटो किनेरै उनले महिनामा सहकारीको किस्ता समयमै तिर्थे । सुरुको तिन महिना अटोबाट खासै कमाई भएन तर चित्रले कहिल्यै हार खाएनन् । बरु अन्य ठाउँबाट ऋण लिएर भएपनि सहकारीको ब्याजकिस्ता समयमै तिरे ।

आवश्यक परेका समयमा उनले पाँच लाख देखी दशलाख रुपैयाँसम्म सहकारीबाटै ऋण लिएर काम चलाउँछन् । अहिले उनीमात्रै होइन अटो व्यवसायमा उनले आफ्नो भाईलाई पनि जोडेका छन् । आँफुले विदेशमा गरेको दुख नेपालमै गरे सुन फल्छ भन्दै चित्रले आफ्नो भाईलाई पनि वैदेशिक यात्रामा जान रोके । अहिले महिनामा अटो चलाएरै दुईभाईले एक लाख भन्दाबढि कमाई गर्ने गरेका छन् ।

‘मैले विदेशको कमाई नेपालमै गर्न सफल भएको छु ’ उनले भने “ इमान्दारिता सबैभन्दा ठुलो कुरा रैछ ।”  चित्र सहकारीको लागि राम्रो ऋणी पनि हुन् । नियमित बचत र ब्याज किस्ता बुझाउने ऋणीमा उनको नाम पर्छ । चाहेको समयमा सहकारीले पनि उनलाई दशौं लाख रुपैयाँ पत्याउँछ । कारण उनको इमान्दारिता र लगनशिलता नै हो ।

अटो किनेर चलाउन थालेको जम्मा तिन वर्ष भयो । तर उनले सबै ऋण चुक्ता गरि अन्य ठाउँमा समेत लगानी बढाएका छन् । परिवारमा भएका ६ जनालाई अटो चलाएरै उनले पालेका छन् । घरपरिवार संगै बसेर विदेश बराबरको कमाई गर्न पाउँदा चित्र मख्ख छन् ।

ब्यवसायमा ईमान्दारिता भएपछि सफल भइदोरैछ भन्ने चित्रलाई लाग्छ । उनी आँफु जस्तै अन्य युवाहरुलाई समेत इमान्दार भएर व्यवसायमा लाग्न प्रेरणा दिन्छन् । वैदेशिक रोजगारीमा सकेसम्म नजान र गएपनि सिप सिकेर नेपालमै प्रयोग गर्न उनी आग्रह गर्छन् ।