कर्णाली प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९\०८० बजेटका सिद्धान्त तथा प्राथमिकता प्रदेशसभामा प्रस्तुत गरेको छ ।
शुक्रबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले बजेटका सिद्धान्त, उद्देश्य, प्रथामिकता र प्रमुख नीतिहरु प्रदेशसभाको दशौ अधिवेशनको चौथो बैठकमा प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आगामी बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारलाई विशेष प्राथामिकता दिने उल्लेख गरिएको छ ।

विनियोजन विधेयक तयार गर्दा दिगो विकासको लक्ष्य, कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना, दिर्घकालिन सोच २१००, राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजना अनुसारको जनसंख्याको क्षेत्रगत स्वरुपलाई प्रमुख आधारको रुपमा लिइएको छ ।
मन्त्री विष्टले सन्तुलित विकासका लागि आगामी वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षको रुपमा लिइ सडक, पुल, सिंचाइँ , खानेपानी, स्वास्थ्य र शिक्षाको योजना पुरा गर्न बजेट विनियोजन गरिने बताए ।

विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरुमाथिको छलफलका लागि जेठ १६ र १७ गते बैठकमा छलफल हुने छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यस अघि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।