कर्णालीमा सवारी दुर्घटना ७ प्रतिशतले घट्यो

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय सवारी दुर्घटना कम भएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८÷७९ मा अघिल्लो वर्षभन्दा ७ प्रतिशत सवारी दुर्घटना कम भएको जनाएको छ ।

अघिल्लो वर्षको साउन महिनामा ४० वटा सवारी दुर्घटना भएको थियो भने यो वर्षको साउन महिनामा ३६ वटा भएको छ । अघिल्लो वर्ष ४० सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु र २३ जना घाइते भएका थिए भने यो वर्षको साउन महिनामा ३६ दुर्घटनामा परी ११ जनाको मृत्यु र १९ जना घाइते भएका छन् ।

यस्तै, कार्यालयले आर्थिक वर्ष ०७७÷०७८ मा ८ हजार ९० र ०७८÷०७९ मा १० हजार ७ सय ८८ वटा जनचेतनामुलक कार्यक्रम गरेको थियो । प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सचेतनामुलक कार्यक्रमबाट सडक दृर्घटनामा कमी आएको बताए । उनले आगामी दिनमा सडक दुर्घटना अझै न्युनिकरण गर्नका लागि जनचेतनामुलक कार्यक्रम गर्नुको साथै राजमार्गहरुको अवस्था, पुरानो सडक खाल्डाहरू मर्मत, ट्राफिक चिन्ह र राजमार्गहरूमा रिफ्रेश सेन्टरको व्यवस्था गरिने बताए ।