मिश्रलाई कारबाही गर्न मिलन पाण्डे समूहले बनायो सुशासन आयोग

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले पार्टी अध्यक्ष रवीन्द्र मिश्रमाथि कारबाही गर्न न्याय तथा सुशासन आयोग गठन गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको पाण्डे समूहको केन्द्रीय कमिटी बैठकले पार्टीमा अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय पार्टीका अध्यक्ष मिश्रलगायत मुख्य नेताहरुले विधान विपरीत काम गरिरहेको, पार्टीलाई गुटबन्दीको शिकार बनाएको र राजनीतिक रुपमा अलमल सृजना गरेको पाण्डे समूहले निष्कर्ष निकालेको छ ।

आयोगलाई कार्यविधि बनाएर पछिल्लो पाँच महिनाको अनुशासन उल्लंघनका घटनाहको एक हप्ताभित्र अनुसन्धान गर्ने, अभिलेखन गर्ने र सोही अनुसार कारबाही प्रत्रिलया अगाडि बढाउने जिम्मेवारी दिइएको छ ।

यसैगरी बैठकले पार्टी सुदृढीकरणका लागि प्रशिक्षण चलाउने, अभियान र संगठनलाई तलैबाट मजबुत बनाउने अभियान समेत चलाउने भएको छ ।

पार्टीमा विवाद बढेपछि मिश्र र पाण्डे समूले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन् ।