संयमित रहन मेयर शाहलाई सरकारको ध्यानाकर्षण


सुर्खेत । सरकारले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ ।

मङ्गलवार सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाण्डौ उपत्यकाको फोहोर उठाउने जिम्मा पालिकाको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने काठमाण्डौ महानगरका मेयरको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको जानकारी दिइन् । उनले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताईन् ।