कर्णाली प्रदेश सभाको बजेट अधिवेशन सुरु

सुर्खेत । कर्णाली प्रदेश सभाको (बजेट अधिवेशन) दशौं अधिवेशन सुरु भएको छ । मंगलबारदेखि अधिवेशन सुरु भएको हो । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारले बजेट ल्याउनु अघि सरकारको नीति तथा कार्यक्रम ल्याउने छ ।

अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले जनपक्षीय र परिणाममुखी बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । दलहरुको तर्फबाट बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका प्रदेश सभा सदस्य यामलाल कंडेलले सकारात्मक प्रभाव पार्ने गरी बजेट ल्याउनुपर्ने बताए । उनले कर्णालीमा विकास गर्ने भन्दा पनि खाने प्रवृत्ति भएकाले सरकारले विगतको कमिजोरीलाई सच्चाएर बजेट ल्याउनुपर्ने र सकारात्मक प्रभाव पर्ने बजेट ल्याएर आफुहरुले सहयोग गर्ने उल्लेख गरे ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य कृष्णा शाह आचार्यले सबैको अपनत्व हुने गरी परिणाममुखी बजेट ल्याउनुपर्ने बताइन् । उनले निर्वाचन क्षेत्र लक्षित भन्दा पनि कर्णाली बासीहरुको अपनत्व हुने गरी बजेट ल्याउनुपर्नेमा जोड दिइन् ।

यस्तै काँग्रेसका प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले जनपक्षीय बजेट ल्याउनुपर्ने बताए । उनले प्रतिपक्ष , सरकार दुवै मिलेर छलफल गरेर प्रभावकारी, जनमुखी र कार्यान्वयन गर्न सक्ने बजेट बनाउनुपर्ने बताए ।

राप्रपाका प्रदेश सभा सदस्य शोसिला शाहीले पनि परिणाममुखी बजेट र जनताको जीवनस्तर परिवर्तन हुने गरी योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।