वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सत्तागठबन्धनमा सहमति

काठमाडौं । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकले समयमै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको हो।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल गरिएको बताए।

‘स्थानीय तहको चुनावलाई समयमै सम्पन्न गर्ने विषयमा छलफल केन्द्रीत भएको छ,’ सञ्चार मन्त्रीसमेत रहेका कार्कीले भने, ‘संविधानमा व्यवस्था भएअनुसार नै चुनाव हुन्छ।’ उनले मिति घोषणा गर्नेबारे भने निर्वाचन आयोगसँग फेरि परामर्श गरिने जानकारी दिए।

‘निर्वाचन आयोगसँग परामर्श भइरहेको छ। फेरि आयोगसँग परामर्श गरेर हामीले संविधानले तोकेकै समयमा स्थानीय निर्वाचन सम्पन्न गरेर संघीयतालाई अझ मजबुद बनाउँदै र स्थानीय सरकारले जनतालाई प्रभावकारी रूपमा सेवा(सुविधा पुर्‍याउने विषयमा सरकार गम्भीर छ,’ मन्त्री कार्कीले भने।

साथै आज समितिमा माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल भएको छ। रिक्त १९ पदमा सत्तागठबन्धनले भागबन्डा गरी उम्मेदवार उठाएका छन्।

आजको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरू उपस्थित थिए।