रुकुम पश्चिमको बाँफिकोटमा कांग्रेस विजयी

रुकुमपश्चिम । नेकपा माओवादी केन्द्रको गढ मानिएको रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठामगर (जेके) विजयी भएका छन्।


कांग्रेसका बाँठाले ४ हजार ४५५ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बाँफिकोटमा निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिए।

बाँठा नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका सभापति हुन्। बाँठाले माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई ३१ मतान्तरले पराजित गरे। चन्द्रबहादुरले ४ हजार ४२४ प्राप्त गरे। केसी माओवादी केन्द्र बाँफिकोटको अध्यक्ष हुन्।

उपाध्यक्षमा भने माओवादी केन्द्रकी तार बुढा केसी विजयी भइन्। उनले ४ हजार ५६० मत प्राप्त गरिन्। निकटतम प्रतिस्पर्धी कांग्रेसकी भद्राकुमारी शाहीले ४१६० मत ल्याइन्।

१० वटा वडा रहेको बाँफिकोट पालिकामा ०७४ मा नेपाली कांग्रेसले एक वटा वडापनि जितेको थिएन। गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडा नेकपा माओवादी केन्द्रले जितेको थियो।