युक्रेनको सङ्कट विश्वव्यापी मुद्दा : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सङ्कट विश्वव्यापी मुद्दा भएको बताउनुभएको छ । जापानको टोकियोमा भइरहेको एसिया–प्रशान्त क्षेत्रका नेताहरूको क्वाड बैठकमा राष्ट्रपति बाइडेनले युक्रेन सङ्कटले अन्तर्राष्ट्रिय व्यवस्था, क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता कायम राख्ने महत्त्वलाई बढाएको बताउनुभएको रोयटर्सले जनाएको छ ।

अमेरिका, जापान, भारत र अस्ट्रेलिया सहभागी क्वाड बैठकमा उहाँले आफ्नो देश अमेरिकाका सहयोगीहरूका साथमा रहने तथा स्वतन्त्र र खुला एसिया–प्रशान्त क्षेत्रका निम्ति लागिपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार संसारमा जहाँसुकै उल्लङ्घन भए पनि सधैँ रक्षा गर्नुपर्ने उहाँले बताउनुभयो ।

युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले हिजो साेमवार विश्वव्यापी नेताहरूसमक्ष डाभोसमा पाशविक शक्ति प्रयोग गर्नबाट रुसलाई रोक्न आह्वान गर्नुभएको थियो । केही समयमै जर्मनीसहित युरोपेली देशहरू रुसी इन्धन आयातमा प्रतिबन्ध लगाउन सहमत हुने र यसले रुसलाई रोक्न सहज हुने राष्ट्रपति बाइडेनको भनाइ छ ।