भारतमा नयाँ बजेट: सरकारले नै डिजिटल मुद्रा निकाल्ने प्रस्ताव

काठमाडौं । छिमेकी मुलुक भारतमा सरकारले नै डिजिटल मुद्रा निकाल्ने भएको छ। मंगलबार लोकसभामा नयाँ बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२ मा नै डिजिटल मुद्रा ल्याउने प्रस्ताव गरेकी हुन्।

इकोनोमिक टाइम्सका अनुसार ब्लकचेन प्रविधि प्रयोग गरेर रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले डिजिटल मुद्रा निकाल्ने प्रस्ताव गरिएको छ। डिजिटल मुद्रा निकाल्दा मुद्रा व्यवस्थापन सहज र किफायती हुने अपेक्षा गरिएको छ।

पछिल्लो समय विश्वभर क्रिप्टोकरेन्सीको लोकप्रियता बढ्दै गएको छ। कुनै पनि सरकारी निकायको नियमनमा नरहेका क्रिप्टोकरेन्सीले पनि ब्लकचेन प्रविधि प्रयोग गर्ने गरेका छन्।

सुरूमा भारतमा क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध लगाइएको थियो। सर्वोच्चमा मुद्दा पुगेपछि अहिले क्रिप्टोकरेन्सीमा लगानी गर्न खुला गरिएको छ। मंगलबार संसदमा प्रस्तुत गरिएको बजेटमा क्रिप्टोकरेन्सीबाट हुने कमाइमा ३० प्रतिशत कर लगाउने व्यवस्था गरिएको छ। नेपालमा भने क्रिप्टोकरेन्सीमा लगानी गर्नु प्रतिबन्धित छ।