चीनले सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता गरेपछि अस्ट्रेलिया

चीनले सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता गरेको छ । दुई देशबीच यसै हप्ता सुरक्षा सम्झौतामा हस्ताक्षर भएपछि अस्ट्रेलिया, न्यूजिल्यान्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् ।

सम्झौताका सर्तहरु सार्वजनिक भएका छैनन् । तर सम्झौतामा चिनियाँ युद्धपोत सोलोमन आईसल्याण्डमा तैनाथ गर्न अनुमति दिइने र शान्ति कायम राख्ने सहयोग आवश्यक भएमा चीनले सुरक्षा फौज पठाउन सक्ने उल्लेख गरिएको अस्ट्रेलियाको दाबी छ । यसअघि चीनसँगको सम्झौता रोक्न अस्ट्रेलिया सरकारले गरेको प्रयासमा सोलोमन आईसल्याण्डले अस्वीकार गरेको थियो । अस्ट्रेलिया सोलोमन आईसल्याण्डको सबैभन्दा ठूलो दातृराष्ट्र हो । सोलोमन आईसल्याण्डका प्रधानमन्त्री मुनासे सोगुभारेले यो सम्झौताले प्रशान्त क्षेत्रको शान्ति र सद्भाव नबिथोल्ने दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

अस्ट्रेलियाको विपक्षी दल लेबर पार्टीले यो सम्झौतालाई विगत ८० वर्षयताकै अस्ट्रेलियाली विदेश नीतिको सबैभन्दा खराब असफलताको संज्ञा दिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले सरकारको कूटनीतिक असफलताबारेको आरोपलाई अस्वीकार गर्नुभएको छ । न्यूजिल्यान्ड र अमेरिकाले पनि सोलोमन आईसल्याण्डले चीनसँग गरेको सम्झौताबाट दुःखी बनाएको प्रतिक्रिया दिएका खबरमा उल्लेख छ ।