नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल रद्द

काठमाडौं । नेपालले अफगानिस्तानसँग खेल्ने तय भएको दुई मैत्रीपूर्ण खेल रद्द भएको छ । एएफसी एसियन कप छनोट अघि नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तय थियो ।

 

दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुने तालिका थियो । तर, अफगानिस्तानको टोली कतार आउन नमानेपछि मैत्रीपूर्ण खेल रद्द भएको हो । अब नेपाली टोलीले कतारमा स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली टोली केहि दिनमा कतार जाने छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । नेपाली टोली कतारबाट कुवेत जानेछन् ।

छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।  दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोटका लागि नेपालले टोलीको घोषणा गरिसकेको  छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोली :

गोलकिपर : दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्स : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी

फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ