बढ्दै आत्माहत्या


सुर्खेत । सुर्खेतमा आत्माहत्याको दर वर्षेनी बढ्दै गएको छ । प्रहरीको तथ्याँक अनुसार महिनामा सरदर दशवटा भन्दा बढि आत्माहत्याका घटना घट्ने गरेका छन् ।

चालु आर्थिक वर्षसहित सुर्खेत जिल्लामा चारवर्षको आत्माहत्याको तथ्याँक हेर्दा ३ सय ७४ जनाले आत्माहत्या गरेको प्रहरीले जानकारी दिएको छ । जसमध्ये १ सय ४७ जना महिला र २ सय २७ जना पुरुष रहेका छन् ।

आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लाभर ९१ जनाले आत्माहत्या गरे । जसमा ५७ जना पुरुष र ३४ जना महिला रहेका छन् ।
यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा ७६ जना पुरुष र ५४ जना महिला गरी १ सय ३० जनाले आत्माहत्या गरेका थिए ।

आर्थिक वर्ष २०७७÷०७८ मा ८१ जना पुरुष र ४५ जना महिला गरी १ सय २६ र चालु आर्थिक वर्षमा १४ जना महिला र १३ जना पुरुष गरी २७ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रहरी अनुसन्धानका क्रममा मानिसले आत्माहत्या गर्नुका पछाडि गरिबी, घरेलुहिंसा र जनचेतनाको कमी रहेको प्रहरी उपरिक्षक घर्ती बताउँछन् । सुर्खेत जिल्लामा बढेको आत्माहत्याको दर न्युनिकरणको लागि थुप्रै कामहरु गरेको समेत घर्तीले सुनाए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्रगत मनोविमर्श कर्ताहरु परिचालन गरी जनचेतनाका कार्यक्रमहरु गर्दा समेत आत्माहत्याको दर घट्न नसकेको उनले बताए । तर मनोविमर्श कर्ताहरु भने यो मात्रै आत्माहत्याको कारण नभएको बताउँछन् ।

लामो समयदेखी मानशिक तथा मनोसामाजिक विमर्शकर्ताको रुपमा काम गर्दै आएकी शर्मीला बि.सीले आत्माहत्या बढ्नुमा मानशिक तथा मनोसामाजिक रोग भएको बताईन् । उनले आत्माहत्या गर्ने ९५ प्रतिशतमा मानशिक तथा मनोसामाजिक रोग हुने गरेको भन्दै ५ प्रतिशतको भने अन्य कारण हुने गरेको सुनाईन् ।

पछिल्लो समय बढेको खर्चिलो र भड्किलो संस्कृती, देखासिकी, तथा प्राकृतिक प्रकोप, महामारी र मानव निर्मित अपराधिक गतिविधिहरु, समेत मानशिक तथा मनोसामाजिक रोगको जड भएको उनले बताईन् ।

मानशिक तथा मनोसामाजिक समस्या पनि रोग हो र यसको उपचार हुन्छ भन्ने कुरा अधिकाँशलाई थाहै नहुने भन्दै बि.सीले मानशिक रोगको औषधि सेवन गर्नेहरुलाई र उसको परिवारलाई समाजले गर्ने अपहेलना तथा लाञ्छना समेत आत्माहत्याको कारण भएको उनको तर्क छ ।

‘राज्यले प्रत्येक स्थानिय तह, विद्यालय तथा अस्पतालहरुमा मनोविमर्श कर्ताको व्यवस्थापन गर्नुपर्छ ।’ उनले भनिन् “ मानशिक रोगको निशुल्क उपचार र औषधिको व्यवस्था राज्यले गरे मानशिक तथा मनोसामाजिक रोगी कम हुन्छन् ।” मानशिक तथा मनोसामाजिक रोगीहरु खुलेर आउनलाई जनचेतनामुलक कार्यक्रम तथा अन्य माध्यमबाट प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ ।