ब्रिटिश क्याम्पको जागीर र अमेरीकाको मोह त्यागेर ड्रागन खेती

सुर्खेत । महिनाको ८५ हजार तलब अनी जिवनसंगीनीको अमेरीकाको बसाई । जिवनसंगीनीले उनलाई अमेरीका नबोलाएको होइन । आफ्नो जागीरबाट पनि नेपाल सरकारको माथिल्लो तहको कर्मचारीको भन्दा बढी तलब आउने तर उनलाई दुवै अवसर भन्दा ड्रागन खेतीले आकर्षीत गर्यो । त्यसमा साथ दिईन् उनकी जिवनसंगीनीले पनि । परिवारका अरु सदस्यहरुले पनि हातमा हात दिए ।

उनी विगत एक वर्षदेखी गुर्भाकोट नगरपालिका–१४ भर्लेनीमा करिब एक बिगाहा जमिनमा उक्त खेती गर्दै आएका छन् । ३२ बर्षिया हिरा बहादुर घर्तीमगर स्वास्थ्यकर्मी हुन् । करिब ११ वर्ष स्वास्थ्य क्षेत्रमा काम गरेका उनी जागीर छोडर ड्रागन खेतीमा लागेका हुन् ।

नाम मात्रै होइन अहिले उनी कामले समेत हिरा बनेका छन् ।  गुर्भाकोट नगरपालिका–१४ मा आफ्नै जमिनमा ड्रागन खेती सुरु गरेका हिरा काठमान्डौंमा बसेर करिब ७ वर्ष विभिन्न निजि स्वास्थ्यसंस्था तथा करिब चारवर्ष ब्रिटिश क्याम्स सुर्खेतमा एच.एको पदमा काम गरेका हुन् । उनी जागीरबाट राजीनामा दिएर विगत एक वर्षदेखि ‘ड्रागन फ्रुट’ खेती गरिरहेका छन् ।

हिराले एक बिगाहा जमिनमा ९ सय १४ पिलरमा उनले खेती सुरु गरेका हुन् । आफ्नै खेतीबाट थप विरुवा उत्पादन गरेर थप विरुवा रोप्ने र अरु कृषकहरुलाई समेत बिक्रि गर्दै आएका छन् ।

घर्तीले ‘कर्णाली ड्राइगन फ्रुट फार्म’ दर्ता गरेर ड्रागन फुडको खेती सुरु गरेका छन् । उनले जागीर राजीनामा दिएको जम्मा दुईमहिना मात्रै भएको छ । विगत एक वर्षदेखी खेती सुरु गरेका उनलाई खेती अनुगमन गर्न आउने कृषक तथा संघसंस्थाका प्रतिनिधिहरुले धेरै खोज्न थालेपछि जागीर राजीनामा दिएर खेतीतर्फ ध्यान दिएको उनी सुनाउँछन् ।

‘मेरो कमाउने मात्रै उदेश्य होइन’उनी भन्छन् “कर्णालीमा एक घर एक ड्रागनको नारा लिएको छु । त्यो नारा सफल पार्ने मेरो उदेश्य हो ।” ड्रागन खेती आर्थिक रुपमा मात्रै राम्रो नभई स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो भएको उनी सुनाउँछन् ।

मुटु स्वस्थ राख्न, बाथ रोग निको पार्न, शारिरीक तौल सन्तुलन राख्न , दम रोगबाट बच्न र क्यान्सर रोगसंग लड्न सक्ने क्षमता बृद्धी गर्न समेत हरेक व्यक्तिले ड्रागन खानुपर्ने उनी बताउँछन् ।

‘पहिलो र दोस्रो चरणको फल बिक्रि भइसकेको, तेस्रो चरणको फल खानलाई तयारी हुँदै गरेको र चौथो र पाँचौं चरणको फल फुल्ने र फल्ने क्रममा रहेको  छन् ।”

वर्षमा चारपाँच महिनाभरी फल्ने र फुल्ने फ्रुट बैशाख महिनादेखी भदौ महिनासम्म फल उत्पादन गर्न सकीने हिराले बताए ।  हाल आँफुले उत्पादन गरेको ड्रागन प्रतिकेजी सेतो सातसय रुपैयाँ केजी र रातो आठसय रुपैयाँ केजी बिक्री गरेको उनले सुनाए । विरुवा सेतो प्रजातीको २ सय ५० र रातो प्रजातीको ३ सय ५० का दरले बिक्रि भइरहेको छ ।

ड्रागनको फल मात्रै नभई फुल, बोक्रा र हाँगा समेत काम लाग्ने र सबै उमेर समुहकाले खान मिल्ने र स्वास्थ्यव्रद्र्धक भएकोले सबैले यो खेती गर्न आवश्यक भएको उनी तर्क गर्छन् ।

कर्णाली प्रदेश कृषी विकास निर्देशनालयले उनलाई ५० हजार अनुदान प्रदान गरेको छ । घर्तीले आफँले भने करिब डेढ करोड रुपैयाँ लगानी गरिसकेका छन् ।

घर्तीको व्यवसाय नमुनाको रुपमा सञ्चालन भएको र आगामी दिनमा उनलाई कार्यालयले थप सहयोग गर्ने कृषी विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले बताए ।

गुर्भाकोट–१२ का हिरा बहादुर घर्ती मात्रै होइन अहिले अरु किषान समेत विस्तारै यसको व्यावसायिक खेतीतर्फ लागेका छन् ।
निर्देशनालयका निर्देशक रोकायले किसानलाई प्रोत्साहन स्वरुप अनुदान तथा अन्य सहयोग गरिरहेको बताए ।

उनका अनुसार गुर्भाकोट नगरपालिका १२ भट्टेचौर सुर्खेतमा समेत ड्रागन खेती सुरु भएको र श्री विकासशिल ताजा तरकारी फलफुल र नर्सरी उत्पादन कृषक समुहका लागि करिब ३६ लाखको अनुदान रकम प्रदान गरिएको उनले जानकारी दिए । उक्त अनुदानबाट १ सय २९ परिवारले लाभ लिएको उनले सुनाए ।

पछिल्लो समय कर्णालीका युवाहरु कृषीतर्फ आकर्षीत बन्दै गएका छन् । कर्णाली प्रदेश सरकार र मातहतका कृषी कार्यालयहरुले समेत युवाहरुलाई प्रोत्साहन हुने खालका कार्यक्रमहरु ल्याएका छन् ।