स्थानीय तह निर्वाचन : मतदान सुरु , मतदाता उत्साहित

सुर्खेत । स्थानीय तह निर्वाचन उत्साहजनक रुपमा सुरु भएको छ । देशभर एकै चरणमा स्थानीय निर्वाचन भएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएलगत्तै मतदाताहरु उत्साहित भएर मतदानमा सारिक भएका भएका हुन् ।

निर्वाचन आयोगले निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदाताहरूलाई अपिल गरेको छ । वीरेन्द्रनगर ८ खजुराका ७५ वर्षीय परविर सुनारले भोट हाल्न पाउँदा खुशी व्यक्त गरे ।

उनले भने ‘भोट हाल्न पाउँदा खुशी लागेको छ । जिते पछि नप्रतिनिधिहरुले हाम्रो ठाउँका लागि विकास गरुन । सडक, खानेपानी, शिक्षा, स्वास्थ्यको राम्रो व्यवस्था गरुन ।’

सोही ठाउँका इन्द्र कुमारी उपाध्यायले पनि बिहानै ७ बजे नै लाइनमा बसेर भोट हालेको बताइन् । उनले भोट हाल्न पाउँदा खुशी लागेको बताइन् । नयाँ आउने जनप्रतिनिधिले जनताको सुःखदुःखका साथी बन्नुपर्ने बताइन् ।

उनले भनिन् । ‘देशमा राम्रोसँग विकास भएको छैन् । खानेपानीको समस्या छ । सडक राम्रा छैनन् । बजेट सबै ठाउँमा पठाएर विकास गर्न गरुन ।’

प्रदेश निर्वाचन कार्यालयका अनुसार कर्णाली प्रदेशका सबै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले कर्णालीका दश वटै जिल्लामा शान्तिपुर्ण रुपमा मतदान भएको जानकारी दिए । प्रदेशभर एक हजार ३८५ मतदान केन्द्र र ९०७ मतदानस्थल रहेका छन् । सुर्खेतमा दुई सय ९१ मतदान केन्द्र र १३८ मतदान स्थल रहेका छन् ।