सभामुखको चुनाव आज, घिमिरे र न्यौपाने प्रतिस्पर्धामा


सुर्खेत । प्रतिनिधिसभाको सभामुखका लागि आज चुनाव हुँदैछ । सत्तापक्ष र विपक्षी गठबन्धनबाट गरी दुईजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

सभामुखको चुनावका लागि बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।

गठबन्धनमा रहेका माओवादीका ३२, एमालेका ७९, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ गरेर एक सय ४५ मत सुनिश्चित रहेकाले एमालेका घिमिरेलाई बहुमत पुग्ने देखिन्छ । सभाध्यक्षको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मत नहाल्ने र कर्तव्य ज्यान मुद्दामा फरार एमालेका लक्ष्मी कोइरी महतोले मत नहालेमा सत्तागठबन्धनका चार दलको मत एक सय ४३ हुन आउँछ ।

सत्तागठबन्धनभित्र रहेका जसपा, जनमत र जनमुक्ति पार्टी असन्तुष्ट छन् । जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चारजना गरेर २२ सदस्य छन् । विपक्षी दलतिर अहिले कांग्रेसको ८८ र एकीकृत समाजवादीका १० जना गरी ९८ खुलेका छन् । अरु पार्टीले कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन् ।

जसपाले साथ दिए एक सय १० जना पुग्नेछ भने लोसपा पनि थपिए संख्या एक सय १४ पुग्नेछ । यति हुँदा पनि बहुमतका लागि २४ जना कम हुनेछ । जनमत र नागरिक उन्मुक्ति पार्टीले कांग्रेसलाई मत दिए एक सय २४ पुग्नेछ । तर पनि बहुमत पुग्दैन ।

कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।