चुनावी प्रतिवद्धता पत्रमा महिलाका सवाल

सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै दल तथा उम्मेदवारहरु आफ्नो प्रतिवद्धतासहित मतदाता भेटघाटमा व्यस्त छन् । उनीहरुले आफ्नो प्रतिवद्धता पत्र समेत सार्वजनिक गरिसकेका छन् । अहिले तिनै प्रतिवद्धता लिएर दल तथा उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका हुन् ।

दल तथा उम्मेदवारहरुले ल्याएको प्रतिवद्धता पत्रमा महिलाका सवालमा विभिन्न विषयहरु समेटिएका छन् । नेपाली काँग्रेस वीरेन्द्रनगरले नगरमा महिला आयआर्जन, महिला माथि हुने हिंसा न्यूनिकरण र स्वास्थ्यमा महिलालाई प्राथमिकता दिएको छ । स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती र घरका गर्भवतीका लागि ‘घरमै टेलिमेडिसिन सेवा’ उपलब्ध गराइने, सुत्केरी महिलालाई एक हजार ‘सुत्केरी सहायता भत्ता’ दिइने, उत्पादनशील क्षेत्रमा महिला सहभागीता र महिला उद्यमशीलता अभिबृद्धि गरिने र घरेलु हिंसा तथा महिलामाथि हुने हिंसामा शून्य सहनशीलताको नीति अख्तियार गरिने उल्लेख छ ।

यस्तै नकेपा एमालेले पनि वीरेन्द्रनगरमा छोरी बचत खाताको निरन्तरता र प्रोत्साहन, महिला तथा किशोरीहरुलाई आत्मरक्षाको सीप प्रदान गर्ने र नगरभित्रका महिला, असहाय तथा गरीब परिवारलाई निःशुल्क कानुनीसेवा उपलब्ध गराइने प्रतिवद्धता गरेको छ ।

नगरकमिटीले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा हिँसा प्रभावित महिला तथा बालबालिकाको पुनःस्थापनाका निम्ति निर्माण सेफहाउस संचालनमा ल्याइने र कटुकुवा अस्पताललाई महिला बालबालिका विशेषज्ञ अस्पतालका रूपमा विकास गर्दै लिइने उल्लेख छ ।

यस्तै “एक घर एक महिला स्वरोजगार, वीरेन्द्रनगरको विकास र समृद्धीको मुल अधार नारासहित सुरु भएको स्वरोजगार कार्यक्रमको निरन्तरता दिँदै महिलालाई वस्तुगत सेवासहित सीप विकास तालिम दिएर आयआर्जनमा संलग्न गराइने, महिलाका लागि निःशुल्क पाठेघर परिक्षण क्याम्पको रूपमा निरन्तर संचालन गरिने, नगरका दुर्गम ठाउँहरूका गर्भवती महिलाको स्वास्थ्य परिक्षण लागि घुम्ति टोलीको व्यवस्थापन गरिने, गर्भवती महिलालाई, निःशुल्क भिडियो एक्सरे, निःशुल्क, एम्बुलेन्ससेवा, सबै महिलाका लागि निःशुल्क सेनिटरी प्याड निशुल्क उपलब्ध गराइने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै नेकपा माओवाली केन्द्र वीरेन्द्रनगरको प्रतिवद्धता पत्रमा महिलालाई आत्मनिर्भर गराउन रोजगार तथा स्वरोजगारमा जोड्ने विशेष प्याकेजका कार्यक्रमरुहरु समेटिएको छ । गर्भवती सुत्केरी महिलालाई प्रसुती र स्वास्थ्य जाँचका लागि एम्वुलेन्स निशुल्क उपलब्ध गराइने पनि प्रतिवद्धतामा उल्लेख छ ।