किसानलाई भैँसी वितरण :  गुराँसलाई दुधमा आत्मनिर्भर बनाउने लक्ष्य


दैलेख । गुराँस गाउँपालिकाका १३ जना किसानहरुलाई भैँसी वितरण गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि गुराँस ४ का किसानहरुलाई भैँसी वितरण गरिएको हो ।

जम्मा २० लाखको योजनामा जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले १० लाख, किसानहरुले ६ लाख र गुराँस गाउँपालिकाले ४ लाख लगानी गरि मुर्रा क्रस जातको भैँसी खरिद गरि वितरण गरिएको हो ।

‘एक पालिका एक पशुसेवा उत्पादन विशेष कार्यक्रम’ अन्तर्रगत पहिलो चरणमा गुराँसमा भैँसी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सीले जानकारी दिए । उनका अनुसार गुराँस पशुपालनका लागि उपयुक्त स्थान भएको र दुधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ यो कार्यक्रम लागु गरिएको हो ।

गुराँस ४ मा रहेको डेरीमा स्थानियले दुध संकलन गरि स्थानिय बजार र नजिकै रहेको वीरेन्द्रनगर बजारमा समेत दुध निर्यात गरिरहेको अवस्थामा थप बजारिकरणमा समेत सहयोग पुग्ने उनले बताए ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भिमबहादुर विष्टले यो कार्यक्रम जिल्ला भर भएपनि पहिलो चरणमा गुराँसमा भैँसी वितरण गरिएको जानकारी दिए ।

उनले गुराँस ४ कै किसानहरुलाई भैँसी वितरण गर्नुको कारण भने किसान आँफैले लगानी गर्न तत्परता देखाएको, नजिकै गुराँस बजारमा डेरी समेत सञ्चालन गरिएको र नजिकै रहेको वीरेन्द्रनगरमा समेत दुध निर्यात भएको अवस्थामा छनौट समिति निर्माण गरि भैँसी सोही ठाउँमा वितरण गरिएको जानकारी गराए ।

आफ्नो मात्रै लगानी गरेर राम्रो जातको भैँसी किन्न नसकिरहेको अवस्थामा सरकारले समेत लगानी गरि भैँसी पालनमा सहयोग गरेकोमा किसान पुर्शराम शर्माले गुराँस गाउँपालिका र जिल्ला पशु अस्पताल तथा पशुसेवा कार्यालयलाई धन्यबाद दिए । उनले प्रत्येक किसानले ४६ हजार भन्दा बढी रकम जम्मा गरेको र बाँकी रकम गाउँपालिका तथा पशु अस्पतालले दिएको बताए ।

किसान शान्ति थापाले समेत उपयुक्त स्थानमा उपयुक्त कार्यक्रम लागु गरेकोमा गाउँपालिकालाई धन्यबाद दिइन् ।किसानहरुलाई १२ वटा भैँसी र एक राँगो वितरण गरिएको हो ।