सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पाँच दलिय गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि भएको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनले चुनावमा कसैलाई हराउन र जिताउन भन्दा पनि प्रतिगमन विरुद्ध गठबन्धन बनेको दावी गरे ।
उनले यो गठबन्धन स्थानीय तहको चुनाव सकेर प्रदेश र संघको चुनावमा पनि निरन्तर हुने बताए । नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी हुँदा आदीबासी, मधेसी, मुस्लिम, दलित, जनजाति, महिलाका अधिकारलाई संविधान संशोधन गरेर समेट्ने बाचा गरेको बताउँदै उनले संविधान संशोधन गरेर देशको उन्नती, प्रगति, राष्ट्रियताको रक्षा, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन गठबन्धनको निर्माण गरिएको बताए ।
‘हामीले पहिले नै संविधान संशोधन गर्न खोजेका थियौँ । एमालेका कारण संशोधन गर्न पाएनौँ । अब जनतालाई विश्वास जगाएर देशको उन्नती, प्रगति र संविधान, गणतन्त्र, लोकतन्त्रको रक्षा, जनताको अधिकारको संरक्षणका लागि र संविधानको संशोधन गरेर बाँकी माग पुरा गछौँ ।’ उनले भने, ‘यो गठबन्धन स्थानीय तहको चुनाव सकेर प्रदेश र संघको चुनावसम्म निरन्तर रहन्छ ।’
फरकबाटो २६ बैशाख २०७९, सोमबार १९:१२