सरकारले ६५ प्रतिशतसम्म किसानलाई राहत दिने

काठमाडौं । सरकारले धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो । सरकारले बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

उनका अनुसार १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिइने छ ।

कात्तिक १ देखिको वर्षा, बाढी र डुवानले देशका धेरै भागमा पाकेको धानबालीमा क्षति पु¥याएको छ । सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको थियो । धानको न्युनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउनेछन् ।