
सुर्खेत । गरिबीमै भए पनि हाँस्दै, खेल्दै गरेको बालापन त्यसरी लुटिन्छ र पीडामा परिणत हुन्छ भन्ने आत्मारामलाई के थाहा ? थाहा हुँदो त सायद उनी त्यो खेलौनासँग सचेत हुन्थे अनि छुंदैँन्थे होला । घर नजिकैको नयाँ बनाउँदै गरेको अर्को घर जहाँ तीन भाइ–बहिनी खेल्न भनेर गएका थिए । त्यहिबेला आत्माराम कामीका सबै खुसी यसरी लुटिएका थिए ।
द्वन्द्वको चाहना कसलाई पो हुन्छ र ? त्यो चाहना आत्माराम कामीको पनि थिएन सायद । नचाहेरै सशस्त्र द्वन्द्वको मारमा पाँच वर्षका बालक आत्माराम कामी परे । दशवर्षे द्वन्द्वले आत्मारामलाई मात्रै होइन उनको परिवारलाई नै तहसनहस् बनायो । नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वले आत्माराम जस्ता धेरैलाई मृत्युको मुखमा पु¥यायो । कोही घाइते भए । कोहीका शरिर अङ्गभङ्गमा परिणत भयो । कसैले जीवन साथी गुमाए । । कोहीले छोराछोरी अनि कोहीले बाबुआमा नै गुमाए ।
कुरा २०५९ साल असार १ गतेको हो । लेकवेसी नगरपालिका–३, सुर्खेतका आत्माराम कामीको परिवारका लागि त्यो दिन कालो दिनका रुपमा परिणत भयो । आज पनि त्यो दिन सम्झँँदा उनीहरुको परिवारमा रुवावासी चल्छ । बुबाआमा खेत बारीमा काम गर्न गएको समयमा यता छोराछोरीको बिचल्ली नै भयो । भाइ–बहिनी जसको जिम्मामा थिए, उसैले बम विस्फोटमा ज्यान गुमाए । उनी थिए आत्मारामका दाई धनबहादुर कामी । खेल्न भनेर भाइ–बहिनी बटुलेर गएका १३ वर्षीय आत्मारामका दाई धनबहादुर कामी कहिल्यै नफर्किने गरेर अस्ताए । उनकी दिदी बालकुमारी पनि घाइते भइन् । अहिले पनि आत्मारामका शरीरभरी गोलीका छर्रा छन् । टाउकोदेखि पैतलासम्म शरिरका कुनै पनि अङ्ग त्यस्ता छैनन्, जहाँ गोलीका छर्रा नहुन् । उनलाई ती छर्राहरुले बिझाउँछ र रातभरी निन्द्रा पर्दैन । तर उनको पीडा कसले सुन्ने ? पीडा सुनिदिने कोही छैन । १९ वर्षदेखि आत्माराम गोलीका छर्रा बोकेर बाँचिरहेका छन् ।
आत्मारामको दाहिने खुट्टा र हात चल्दैन अनि देब्रे आँखा पनि राम्रोसँग देख्दैनन् । तर पनि जीवन गुजार्नुको विकल्प उनीसँग छैन । उनले सरकार भए पनि अनुभूति गर्न पाएका छैनन् । “गोलीका छर्रा निकालिदिएको भए अलि आनन्दको सास त फर्ने थिएँ नि, कसले पो निकालिदियोस् यो मेरो शरिरमा रहेका गोलीका छर्रा’ उनले गहभरी आँसु निकाल्दै दुःखेसो पोखे ।
आत्माराम जस्तै गोलीको छर्रा बोकेर दुल्लु नगरपालिका–६, छिउडि पुसाकोट चरिखोला दैलेखकी मनसरा विक पनि १७ वर्षदेखि बाँचिरहेकी छन् । २०६१ साल मंसिरमा भएको दुल्लु बम विस्फोटमा उनी घाइते भएकी थिइन् । हालसम्म पनि उनले राज्यबाट राहत पाउन सकेकी छैनन् । जिउँभरी रहेका बमका छर्रा निकाल्ने रकम अभावले मनसरा छर्रा बोकेरै हिँड्न बाध्य छिन् । ‘बुढा अशक्त छन् । उनले भनिन्, ‘दुईछाक टार्न पनि धौ–धौ भएपछि छोराहरु भारत पसेका छन् ।’ द्वन्द्वपछिको परिवर्तनले नेताहरु आनन्दको सास फेर्दैछन्, तर घाइतेहरुको भने निन्द्रा खोसिएको छ । उनीहरुको खुसी अहिलेसम्म फर्किएन । सरकारले दिने आश्वासनले उनीहरुमा झनै पीडा थपिदिन्छ ।
लेकवेसी नगरपालिका सुर्खेतका तुलबहादुर गन्धर्व समेत द्वन्द्वकालका घाइते हुन् । घाइते शरिर बोकेर हिँडेका तुलबहादुरले हालसम्म पनि राज्य पक्षबाट न्याय पाउन सकेका छैनन् । “द्वन्द्वपीडितको परिचयपत्रकै लागि उनी तड्पिएको वर्षौ बित्यो । उनले भने, “तर पनि घाइतेको परिचयपत्र समेत पाउन सकेको छैन । राज्य र विद्रोही पक्षकै कारण शरिर आधा भए पनि राज्यले वेवास्ता गरेको उनले गुनासो गरे ।
उनीहरु जस्तै सशस्त्र द्वन्द्वको समयमा घाइते भएकाहरुले अहिले पनि गोलीको छर्रा बोकेर हिँड्न बाध्य छन् । विभिन्न समयमा बनेका आयोगहरुले काम गर्न नसकेको पीडितहरुको गुनासो छ । राज्यले द्वन्द्वपीडितका छोराछोरीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी, उपचार लगायतका थुप्रै आश्वासन दिएको छ । कर्णाली प्रदेश सरकारले समेत बजेट तथा नीति कार्यक्रममा द्वन्द्व पीडितलाई समेटेको छ । चालु आर्थिक वर्ष ०७८÷७९ मा प्रदेश सरकारले विपन्न, द्वन्द्वबाट घाइते अपाङ्गता र शहिदका परिवारलाई सिपमूलक प्राविधिक शिक्षा प्रदान गर्ने नीति लिएको छ । तर सरकारले लिएको नीति प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेको छैन ।

फरकबाटो २२ आश्विन २०७८, शुक्रबार १६:५६