एमालेको पक्षमा उर्लिएको जनलहरले जित सुनिश्चित छ : कंडेल


सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवंम कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले स्थानीय तहको निर्वाचनमा एमालेको जित सुनिश्चित भएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन, महिला विभागले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै जनमत एमालेको पक्षमा भएकाले एमालेको जित सुनिश्चित भएको बताएका हुन् ।

उनले विरोधिहरुले पैसा र ताकतका आधारमा चुनाव जित्न कोसिस गरे पनि एमालेले जनमतको आधारमा चुनाव जित्ने दावी गरे । उनले भने, ‘अहिलेको अवस्थामा काँग्रेस थला परेको छ,  माओवादी तहसनहस भएको छ । चुनाव जित्ने भनेकै एमालेले हो ।’

सुर्खेतका सबै पालिकामा देखिएको जनलहर र सहभागिताले पनि चुनाव एमालेले जित्ने निश्चित भएको उनको भनाई छ । उनले महिलालाई नेतृत्वमा तहमा ल्याउन प्राथमिकता दिने पार्टी भनेकै एमाले रहेको समेत बताए । उनले भने, ‘नेपालको राजनीतिमा महिलाका लागि ढोका खोल्ने पार्टी एमाले हो । महिलालाई नेतृत्व तहमा ल्याउनका लागि पहल गर्ने पार्टी एमाले हो । अहिले पनि हामीले प्रमुख पदमा महिलाहरुलाई उठाएका छौँ । एमालेलाई महिलालाई प्राथमिकता दिने पार्टीको रुपमा चित्रण गरिएको छ । बरु अहिले गठबन्धनको राजनीतिले महिला सहभागिता घटाएको छ । यो प्रमुख मुद्दाका रुपमा हेरिनुपर्छ ।’

उनले सम्पूर्ण पार्टीका नेता, कार्यकर्ता, समर्थक, महिला संगठन तथा भातृ संगठनहरुलाई एमालेका उम्मेदवार जिताउनका लागि अनुरोध गरे ।