मतदाता भन्छन्, ‘चुनावमा ठूला सपना देखाउने तर जिते पछि हराउने नेतालाई भोट दिन्नौं’


सुर्खेत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै यति बेला गाउँघर तथा शहरमा चुनावी चहलपहल बढेको छ । राजनीतिक दल तथा उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । उम्मेदवारहरुले भोट माग्न घरदैलो अभियान, आमसभालाई तिव्रता दिएका हुन् ।

नेता कार्यकर्तातालाई चुनाव कसरी जित्ने भन्ने चिन्ता छ । तर जनतालाई भने गुजारा कसरी गर्ने भन्ने पिर छ । जति पटक भोट दिए पनि आफुहरुका दुःख जहाँका त्यही भएको मतदाता बताउँछन् ।

वीरेन्द्रनगर ४ समावेशी टोलका ७० बर्षिया छविलाल बोहोराले वीरेन्द्रनगर चौकमा ४४ बर्षदेखि जुत्ताचप्पल सिलाउने काम गर्दै आएका छन् । यही पेशा पनि उनले व्यवस्थित रुपमा गर्न नपाउँदा गुजारा चलाउनै धौ धौ हुन्छ । उनले हालसम्म पटक पटक भोट हालेर जितेका उम्मेदवारले जिते पनि । व्यवस्था परिवर्तन आयो । तर उनको अवस्था भने उस्तै छ । उनले भने, ‘अहिलेसम्म मैले भोट हाले । नेताहरुले हाम्रो भोटको कदर गरेन् । हाम्रा दुःख जहाँका त्यही छन् । चुनाव बेला भेट हुन्छ, त्यस पछि हुँदैन् ।’

वीरेन्द्रनगर ५ का जयन्ती भुषालले नेताहरुलाई भोटकै चिन्ता भएको बताइन् । उनले भनिन्, ‘हाम्रा दुःख जस्ताको त्यस्तै हुन् । नेताहरुलाई भोटको चिन्ता छ । हामीलाई ज्याला मजदुरी गरेर बिहान साँझको छाक कसरी टार्ने भन्ने चिन्ता छ । न आफ्नो भरपर्दो बास छ, न खानलाई कुनै भरपर्दो आयस्रोत नै छ । अहिलेसम्म सुकुम्बासी भएर सरकारबाट पाउने सेवासुविधा पनि पाउन सकेको छैनौँ ।’ भोट माग्ने र जिते पछि कुनै सुनुवाई नगर्ने भएकाले यस पटक लालपूर्जा दिलाउँछौ भनेर बाचा गर्नेलाई भोट दिने उनले बताइन् ।

वीरेन्द्रनगरमा चट्पटे बेच्दै आएकी सल्यानकी मेनुका रावतलाई खासै चुनावी चहलपहले छोएको छैन् । भोट माग्दा ठूला ठूला सपना देखाउने तर पछि कार्यान्वयन नगर्ने नेतालाई यस पटक भोट नदिने उनले बताइन् । उनले भनिन्, ‘हामीलाई आफ्नै ठाउँमा रोजगारी चाहिएको छ । आफ्नै ठाउँमा काम भए यहाँ आउनु पर्थेन । यही चट्पटे बेचेर पनि घरखर्च चलाउन मुश्किल हुन्छ । छोराछोरीलाई राम्रो स्कुलमा आफ्नै ठाउँमा पठाउन पाए हुन्थ्यो भन्ने छ । उपचारका लागि गतिल्लो अस्पताल चाहिएको छ । यस पटक ठूला सपना देखाएर भोट माग्ने पछि हराउने नेतालाई भोट दिन्नौं ।’ भोट माग्दा दैलो दैलोमा आउने नेताहरु जिते पछि नआउने गरेको उनको गुनासो छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ५ चिसापानिका रुकु विक डोकामा फलफुल बिक्रि गर्दै जिविकोपार्जन गर्दै आएकी छन् । वीरेन्द्रनगरका सडक छेउमा डोकोमा फलफुल बिक्रि गर्न त्यति सहज छैन्, उनलाई । कति बेला नगरपालिकाले उठाउने थाहा नै हुँदैन् । ‘जनताको आधारभुत आवश्यकता समेत पूर्ति गर्न नसक्ने नेतालाई कसरी हामीले भोट दिने ? उनले भनिन्, ‘भोट दिएर जिताएका नेताहरु अहिलेसम्म धन्यवाद समेत भन्न घरदैलोमा आएनन् । भोट आवश्यक पर्दा मात्रै हो हामीसँग हात जोड्दै आउने । जिते पछि न फर्किएर आउँछन् , न केही हाम्रा लागि केही गर्छन् ।’ अहिले जसले जनताको हकहितका लागि आवाज उठाउँछ, उसैलाई नै भोट दिने उनले बताइन् ।