
सुर्खेत । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले पनि राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित तथा आवद्ध भएका आफ्ना सदस्यहरुलाई महासंघको सदस्यता त्याग्न आग्रह गरेको छ ।
लेकबेशी नगरपालिकामा महासंघको सम्पन्न तेस्रो पूर्ण बैठकले सोमबार लेकबेशी घोषणापत्र जारी गर्दै राजनीतिक दलका कार्यकारी पदमा निर्वाचित वा आवद्ध भएका शाखाका सदस्यहरुलाई सदस्यता त्याग्न आग्रह गरेको हो । यदि सदस्यता आफै नत्यागे खारेजी गर्ने महासंघले चेतावनी दिएको छ । महासंघले शाखा सदस्यहरुलाई सदस्यता खारेज गर्नु अघि नै स्वेच्छिक रुपमा सदस्यता त्याग्न भनेको छ ।
अहिले नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायका दलहरूको विभिन्न तहमा अधिवेशन चलिरहेको छ । दलका अधिवेशनमा पत्रकार महासंघका सदस्यहरू नै उम्मेदवार र निर्वाचित भए पछि महासंघले ध्यानाकर्षण जनाएको हो । यस अघि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि राजनीतिक दलमा निर्वाचित तथा आवद्ध भएका सदस्यहरुलाई सदस्यता त्याग्न वा राजीनामा दिन आग्रह गरेको थियो ।
यस्तै घोषणापत्रमा प्रदेश सभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसंचार प्रतिष्ठान स्थापना सम्वन्धी विधेयकलाई पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुने गरी आवश्यक संसोधनसहित विधेयक पारित गर्न आह्वान समेत गरिएको छ । तत्काल आमसंचार प्रतिष्ठान स्थापना गर्न बैठकले प्रदेश सरकारसँग बैठकले माग गरेको छ ।
कोरोना महामारीका कारण समस्यामा परेका संचार माध्यमहरुको दिगो संचालनका लागि लोककल्याणकारी विज्ञापन बृद्धि गर्न र स्थानीय तथा प्रदेश सरकारले प्रकाशन गर्दै आएका विज्ञापन स्थानीय संचार माध्यममा अनिवार्य प्रकाशन तथा प्रशारण गर्नेगरी आवश्यक कानून र नीति निर्माण गर्न बैठकले आह्वान गरेको छ ।
प्रदेश सरकारले संचालन गरिरहेको पत्रकारको स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउनलागयत माग पनि बैठकले गरेको छ ।

फरकबाटो ६ मंसिर २०७८, सोमबार २०:४५