हुम्ला : हिमपातका कारण यारी–हिल्सा सडक खण्ड बन्द 


सुर्खेत । हिमपातका कारण चीनसँगको सीमावर्ती क्षेत्र सिमकोट–हिल्सा सडक अन्तर्गतको यारी–हिल्सा सडक खण्ड बन्द भएको छ । सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि यारी–हिल्सा सडक खण्ड बन्द भएको हो ।

जिल्ला प्रशासन कार्यालय हुम्लाले दुई दिनको लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको यातायात सेवा बन्द भएको जनाएको छ । गएको असोज कात्तिकमा परेको हिउँ जमेर बन्द भएको यो सडक पुस १७ र १८ गते नाम्खा गाउँपालिकाले हिउँ पन्छाएपछि साढे तीन महिनापछि सञ्चालनमा आएको थियो ।

झण्डै दुई हप्ताभन्दा बढी समय सञ्चालनमा आएको यारी–हिल्सा क्षेत्रको यातायात सेवा हिमपातका कारण पुनः बन्द भएको छ । ४ हजार ६ सय मिटर उचाइमा रहेको नारा लेक क्षेत्रको यो सडक हिउँले सेताम्मे भएको छ ।

एकतर्फी नाका खुलेपछि चीनबाट ल्याइएको खाद्यान्न, लत्ताकपडा र विकास निर्माणका सामान सडक बन्द भएपछि हिल्सामै रोकिएको छ । यातायात ठप्प भएपछि व्यापारी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, यारी नाका भन्सारका कर्मचारी र हिल्साका स्थानीयलाई आवतजावतमा समस्या भएको छ।