काठमाण्डौ । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोख्रेल सर्वोच्च अदालत गएका छन् ।
नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई गरिएको बढुवामा विधि मिचिएको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोख्रेल रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
पोख्रेलको रिट निवेदन सर्वोच्च अदालतमा पेस भएर दर्ताका लागि अध्ययन भइरहेको उनले बताए । पोख्रेल बाहेक अरु कोही पनि यही विषयलाई लिएर अदालत नगएका ढकालले बताए ।
अर्का आईजीपी सहकुल थापा पनि सर्वोच्च जाने तयारीमा रहेको बताइएको थियो । हिजोको मन्त्रिपरिषद्को बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । यो निर्णयअनुसार सिंहले आज बिहान दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्मालेका छन् ।
गृह सचिव टेकनारायण पाण्डेले आईजीपी सिंहलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । वरीयताका क्रममा आफूभन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजी विश्वराज पोख्रेल सर्वोच्च अदालत पुगेका हुन् ।


फरकबाटो १९ बैशाख २०७९, सोमबार १४:१२