भोलिदेखि जहाज नउडाउने आन्तरिक वायुसेवा कम्पनीको चेतावनी

काठमाण्डौ । आन्तरिक वायुसेवा कम्पनीले भोलि रातिदेखि उडान बन्द गर्ने चेतावनी दिएका छन् ।

१८ घन्टा विमानस्थल सञ्चालन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ तालिका र स्लट सार्वजनिक गरेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले त्यसलाई कार्यान्वयन नगर्ने र जबरजस्ती गरिए भोलिदेखि सबै उडान बन्द गर्ने चेतावनी दिएको हो ।

विविध प्राविधिक कारणले तत्कालको लागि राति आठ बजेपछि नियमिततर्फका उडान गर्न सक्ने अवस्था नरहेको जानकारी गराउँदा गराउँदै पनि प्राधिकरणले बुधवार नयाँ स्लटको व्यवस्था गरेर पत्र पठाएको भन्दै सङ्घले आपत्ति जनाएको छ ।

प्राधिकरणले दिएको स्लट र तालिका तत्कालै कार्यान्वयन गर्न नसकिने र यसको लागि केही समय माग गरिए पनि प्राधिकरणले एकतर्फी निर्णय लाद्न खोजेकाले समस्या भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

प्राधिकरणले व्यावहारिक पक्ष नै नहेरिकन एकैपटक राति १२ बजेसम्म उडान गर्न भन्दै नयाँ तालिका र स्लट दिएकाले बाध्य भएर उडान बन्द गर्ने चेतावनी दिनुपरेको उनको भनाइ छ ।

‘हामीले पहिले नै बुकिङ लिइसकेका यात्रुले के गर्ने, रातिको १२ बजे उडान हुने यात्रुले कसरी विमानस्थल आउजाउ गर्ने लगायतका व्यावहारिक कुरा हेरिएको छैन, त्यसैले समय मागिएको हो’ बर्तौलाले भने ।

सङ्घले वैशाख ३ गतेकै स्लट सम्बन्धी व्यवस्थाअनुसार उडान अनुमति दिन माग गरेको छ । स्लट संशोधन नभएसम्मका लागि सबै उडान स्थगित हुने सङ्घले चेतावनी दिएको छ । प्राधिकरणले रात्रिकालीन उडान हुने विमानस्थलमा भोलिदेखि दैनिक १८ घन्टा उडान गर्ने निर्णय गरिसकेको छ ।