कर्णाली सरकारमा माओवादीले खाेज्याे सम्मानजनक उपस्थिति

सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश सरकारमा आफ्नो सम्मानजनक सहभागिता हुनुपर्ने बताएको छ ।

माओवादी केन्द्र प्रदेश सभा संसदीय दलको बिहीबार बसेको बैठकले सरकारमा सम्मानजनक सहभागिता हुनुपर्ने निर्णय गरेको हो ।

सरकारमा सहभागिताका लागि  निर्णय गर्ने जिम्मा दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले जानकारी दिए ।

गठबन्धन दलहरुसँग छलफल गरी सरकारमा सम्मानजनक सहभागिताको सुनिश्चित  हुने गरी दलका नेता शाहीले निर्णय लिने प्रमुख सचेतक विष्टले बताए ।

सत्ता गठबन्धनको सबैभन्दा ठुलो दलको हैसियतले आफूहरुको सहभागिता सम्मानजनक हुनुपर्ने उनको भनाइ छ ।

गठबन्धन सरकारमा माओवादी केन्द्रले चार वटा मन्त्रालय दाबी गर्दै आएको छ । चार वटा मन्त्रालय नछोड्ने बैठकले निर्णय गरेको हो । मन्त्रालय भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् ।

अहिले नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाही मात्रै मन्त्री नियुक्त भएका छन् । उनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।